सञ्चयकर्ताका लागि विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ

Technology Khabar १२ फाल्गुन २०७७, बुधबार

सञ्चयकर्ताका लागि विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ

काठमाडौं ।

महालेखा नियन्त्रकको कार्यालय र कर्मचारी सञ्चय कोषले सरकारी कर्मचारीको सञ्चय कोष, निबृत्तभरण कोष र सापटी भुक्तानी रकम तत्काल व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको शुभारम्भ गरेका छन् ।

महालेखा नियन्त्रकको कार्यालय अनामनगरमा बुधबार आयोजित कार्यक्रममा सो कार्यालय र सञ्चयकोषका पदाधिकारीले संयुक्तरुपमा सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

यो प्रणालीको कार्यान्वयनबाट कारोबारको बास्तविक समय (Real Time) मा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम ब्यक्तिगत खातामा  जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने,घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरै वटा खाता रहने लगायतका समस्याहरु समाधान हुने बताईएको छ ।

कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व तर्फका सचिव तथा सञ्चय कोष कार्यालयका अध्यक्ष रामशरण पुडासैनीले विद्युतीय प्रणालीको विकासले कर्मचारीको खातामा रकम समयमा जम्मा हुने र चुस्त व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । विद्युतीय प्रणालीले कर्मचारीलाई जिम्मेवार बनाउने र पारदर्शीता समेत कायम हुने उनले बताए। सञ्चयकर्ताको सेवा प्रवाहमा समेत छरितोपन आउने सचिव पुडासैनीले चर्चा गरे।

महालेखा नियन्त्रक मधुकुमार मरासिनीले दुई वर्षको अथक प्रयासपछि विद्युतीय प्रणालीले साकार रुप लिएकोमा खुशी व्यक्त गरे । कतिपय नागरिकको सोचाई सरकारी कामकाज चुस्त हुँदैन भन्ने अझै रहेपनि अव प्रविधिको विकासले सरकारी निकाय पनि आफूलाई विद्युतीय प्रणालीमा फड्को मारिसकेको बताए। अब देशभरका दुई लाख ७१ हजार कर्मचारीको सञ्चय गरेको रकम डिजिटल लेखा प्रणालीमार्फत जम्मा हुने उनले प्रष्ट पारे।

हाललाई संघीय र प्रदेश कर्मचारीका लागि यो प्रणाली शुभारम्भ गरिए पनि निकट भविष्यमा पालिका, वडा स्तरमा समेत प्रणाली शुभारम्भ गरिने उनले विश्वास दिलाए ।

सहलेखा महानियन्त्रक तथा प्रवक्ता ज्ञानेन्द्र पौडेलले कम्प्यूटरमा आधारित लेखा प्रणालीको शुभारम्भले काममा चुस्तता ल्याउने विश्वास व्यक्त गरे। “यसअघि समयमा रकम दाखिला नहुने झन्झटिलो व्यवस्था थियो, अब त्यसमा चुस्तता आउँछ” उनले भने ।

हाल सरकारको संघिय तथा प्रदेश सेवा अन्तर्गतका निजामती, प्रहरी र जंगी तर्फ करिब २ लाख ७५ हजार सञ्चयकर्ताहरु यस प्रणालीबाट लाभान्वित हुने जानकारी दिईयो ।

easy care

प्रकाशित: १२ फाल्गुन २०७७, बुधबार