अबैध फोनको कारोबार गरेको भन्दै ताम्राकार कम्प्लेक्समा छापामारी, इम्पोर्टर्स संघले गराएको व्यवसायीको आरोप

Technology Khabar ११ फाल्गुन २०७७, मंगलवार

अबैध फोनको कारोबार गरेको भन्दै ताम्राकार कम्प्लेक्समा छापामारी, इम्पोर्टर्स संघले गराएको व्यवसायीको आरोप
न्यूरोड पाकोमा रहेको ताम्राकार कम्प्लेक्स भवन । फाइल तस्विर

काठमाडौं ।

ताम्राकार कम्प्लेक्ससहित न्यूरोडका मोबाइल पसलहरुमा अवैध मोबाइल फोनको कारोबार गरेको भन्दै प्रहरीले छापा मारेको छ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरीको नेतृत्वमा गएको एक टोलीले ताम्राकार कम्प्लेक्सका केहि पसलहरुमा अवैधरुपमा भित्र्याईएका मोबाइल फोनको कारोबार भएको भन्दै आइतवार छापा हानेको हो।

प्रहरीले भन्सार छलेका र अवैध सामाग्रीहरु बिक्री गरेको सुराकीको आरोपमा सो छापा मारिएको जनाएको छ।

प्रहरीले सो क्रममा १७७ थान विभिन्न ब्राण्डका फोनहरु जफत गरेको जानकारी दिएको छ । जसमा अधिकांश कागतपत्र नभएका र अवैध रुपमा भित्र्याईएका फोनहरु रहेको जनसेवाका डिएसपी दिल बहादुर मल्लले जानकारी दिए।

‘हामीले विभिन्न देशहरुबाट ल्याएका अवैध फोनहरुको कारोबार भएको सूचनाको आधारमा छापा मारेका हौं, बरामद भएका फोनहरु भन्सारमा बुझाएका छौं,’ उनले भने ।

उनले ताम्राकार कम्प्लेक्सका र बाहिरका गरेर जम्मा ६ वटा पसलमा छापा मारीएको बताए । सो बारेमा अनुसन्धानसहित सबै बिबरण भन्सारमा बुझाएको र छिटै औपचारिक जानकारी दिने डिएसपी मल्लले जानकारी दिए ।

अर्कोतर्फ प्रहरीले हचुवाको भर छापामारी गरेको भन्दै ताम्राकार कम्प्लेक्सका व्यवसायीहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रहरीले अधिकार भन्दा बाहिर गएर छापा मारेको र त्यसले व्यवसायीहरुलाई आतंकित बनाएको दाबी गरेका छन् ।

ताम्राकार कम्प्लेक्समा रहेका मोबाइल क्लब, सिटिभी मोबाइल, टच मोबाइल, प्रिन्स इलेक्ट्रोनिक्स, फ्यूचर प्रिन्स ट्रेडलगायतका ताम्राकार कम्प्लेक्स भित्र र बाहिरका केहि पसलहरुमा छापा मारीएको थियो ।

आइतवार भएको छापामारीमा प्रहरीले ३०० भन्दा बढि मोबाइल सेट लगेको व्यापारीहरुको भनाई छ। जसमा बिल भएका र बनाउन ल्याईएका फोन सेटहरु समेत रहेको उनीहरुले जानकारी दिए ।

प्रहरीले आतंकित बनाउने गरि छापा मारेको र त्यो गलत भएको एक व्यवसायीले जानकारी दिए।

‘मोबाइल इम्पोर्टर संघको निर्देशनमा हाम्रा पसलहरुमा छापा मारिएको छ।  हाम्रा बिल भएका र मर्मत गर्न ग्राहकले दिएका फोनहरु समेत प्रहरीले लगेको छ,’ एक व्यवसायीले भने ।

‘माथिको आदेश भन्दै सिभिल ड्रेसमा आएर हाम्रो सामान उठाएको छ । अनुसन्धान गर्ने निकायलाई समेत जानकारी नदिई छापा मारिएको छ,’ उनले भने ।

उनले कोरोना महामारीको लकडाउनमा बन्द भएर भर्खर कारोबार हुन लागेको समयमा छापामारी गरेर तर्साउने काम भएको गुनासो गरे ।

‘रिचार्जर’ एपका लगानीकर्ता अलाइभ ग्लाइडरको लगानी रहेको र ताम्राकार कम्प्लेक्समा रहेको सिटिभी मोबाइलमा भने अवैध आईफोनको कारोबार हुने गरेको भन्दै यसअघि पनि पटक/पटक छापामारी अबैध फोन बरामद गरिएको थियो।

Global Bank
easy care

प्रकाशित: ११ फाल्गुन २०७७, मंगलवार

ताजा समाचार