विस्तार हुँदै क्यूआर कोड, रुपन्देहीका ई–रिक्सामा क्यूआर कोडको प्रयोग

Technology Khabar ७ फाल्गुन २०७७, शुक्रबार

विस्तार हुँदै क्यूआर कोड, रुपन्देहीका ई–रिक्सामा क्यूआर कोडको प्रयोग
Classic Tech

डिजिटल नेपाल अभियानका लागि धेरै ठूला र खर्चिला अभ्यास भइरहेका छन् । ठूला व्यवसाय, बैङ्क, होटललगायतमा यस्तो अभ्यास प्रशस्त हुन थालेको छ । तर धेरैले सजिलै नपत्याउने न्यून लगानीका र न्यून आय भएका पनि डिजिटल अभ्यासमा समेटिन थालेका छन् ।

पछिल्लो उदाहरण रिक्सामा पनि क्यासलेस अर्थात ई–भुक्तानी बनेको छ । यस्तो अभ्यास स्वरूप रुपन्देहीका ई–रिक्साले क्यूआर कोडको प्रयोग गर्न थालेका छन् । अब यस्ता रिक्सा चढ्नेले नगद भुक्तान गर्ने छैनन् । रिक्साको क्यूआर कोड स्क्यान गरेर मोबाइलबाटै भाडा तिर्नेछन् ।

बिहीबार भैरहवामा नेपाल राष्ट्र बैङ्क, सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुयालले उक्त कार्यको शुभारम्भ गरे । बुटवलस्थित साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले प्रदान गरेको क्यूआर कोड प्रणाली शुभारम्भ गर्दै उनले क्रमशः सबै क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गरिने बताए ।

नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल र सर्वसाधारणको पहुँचसम्म पुर्याउन नेपाल राष्ट्र बैङ्कले अभियानका रूपमा सुरु गरेको चर्चा गर्दै उनले यसका लागि बैङ्क वित्तीय संस्थाहरूले प्रशंसनीय अग्रसरता देखाएको बताए।

साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले ठूला व्यवसायमा यस्तो प्रयोग भइरहे पनि साना व्यापारीहरूलाई पनि डिजिटल युगमा लैजान बैङ्कले रिक्साजस्तै साना लगानी र आय भएका क्षेत्रहरूलाई पनि क्यूआर कोर्ड वितरण गर्ने अभियान बढाउने जनाए ।

सङ्घीय राजधानी काठमाडौँका केही बस र ट्याक्सीमा यस्तो अभ्यास सुरु भए पनि रिक्सामा रुपन्देहीबाट पहिलो प्रयोग सुरु भएको नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले बताए।

रुपन्देहीमा यस्तो कार्यको समन्वय गरिहनुभएका न्यौपानेले राष्ट्र बैङ्क सिद्धार्थनगर कार्यालयले आगामी दिनमा ससाना तरकारी, फलफूल, किराना पसल र स्थानीय बसमा पनि क्यूआरकोड लागू गर्दै जाने बताए ।

रिक्सा चालक सङ्घ सिद्धार्थनगरका अध्यक्ष हरिबहादुर नेपालीले सुरुमा केही असजिलो लागे पनि क्रमशः यसबारे रिक्सा चालक र ग्राहक अभ्यस्त हुँदै जाने र सबैमा लागू गर्ने बताए। उनका अनुसार सिद्धार्थनगर क्षेत्रमा मात्रै पनि करिब २५० वटा ई–रिक्सा सञ्चालनमा छन् । रुपन्देहीको बुटवल, सैनामैना, देवदह, लुम्बिनीमा पनि यस्ता रिक्साको सङ्ख्या अत्यधिक छ ।

बिहीबार नै रुपन्देहीको सैनामैना नगरपालिकाका रिक्सा चालकले पनि क्यूआर कोड पाएका छन् । नगरप्रमुख चित्रबहादुर कार्कीले उनीहरूलाई कोड वितरण गर्दै नगरपालिकालाई पूर्ण डिजिटल बनाउन लागिएको बताए ।

सोही अवसरमा सैनामैनाका साना फलफूल तथा तरकारी व्यवसायीलाई पनि क्यूआर कोड वितरण गरिएको थियो । आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: ७ फाल्गुन २०७७, शुक्रबार

Loading...