ग्राहकहरुको डाटा ह्याक भएको घट्नामा भायनेटलाई कारबाही नगरि उन्मुक्ति दिएको खुलासा

Technology Khabar ५ फाल्गुन २०७७, बुधबार

ग्राहकहरुको डाटा ह्याक भएको घट्नामा भायनेटलाई कारबाही नगरि उन्मुक्ति दिएको खुलासा
भायनेटको जावलाखेलमा रहेको ग्राहक सेवा केन्द्र । फाईल
Classic Tech

इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेसन्स प्रालि (भायानेट समेत भनिने) लाई ग्राहकहरुको डाटा चोरीको घट्नामा नियमनकारी निकायले उन्मुक्ति दिएको भेटिएको छ।

गत वर्ष २०७६ को चैतमा* भायनेटका ग्राहकहरुको डाटा ह्याकरले चोरेर सार्वजनिक गरिदिएको थियो । जसमा ५० हजार भन्दा धेरै ग्राहकहरुको संवेदनशिल डाटा लीक भएका थिए र सार्वजनिक रुपमा उपलब्ध भएको थियो ।

सो घट्नामा भायनेटको असुरक्षित सेक्यूरिटी सिस्टमका कारण र सेक्यूरिटीमा भएको कमजोरीका कारण हजारौं प्रयोगकर्ताहरुको ईमेल ठेगाना, मोबाइल फोननम्बर र ग्राहकहरुको स्थानलगायतका जानकारी बाहिरिएको थियो ।

तर सो घट्नामा दूरसञ्चार क्षेत्रको नियामक निकायले भने इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटलाई कुनै कारबाही नै नगरि छोडिदिएको खुलासा भएको हो।

सो घट्नामा संलग्न रहेको ह्याकरलाई भने नेपाल प्रहरीले सो कम्पनीको उजुरी र नियामक निकायको सहयोगमा पक्राउ गरेको भएपनि सोही घट्नामा आफ्नो कमजोरीका कारण ग्राहकहरुलाई असर पारेपनि कम्पनीले भने उन्मुक्ति पाएको छ।

भायनेटको डाटा ह्याक गरेर लीक गर्ने ह्याकर ९ महिनापछि पक्राउ

नेपाल दूरसञ्चार प्राधिकरणले सो  ग्राहकहरुको डाटा ह्याक भएको घट्नामा कम्पनीलाई सचेत मात्र गराउने गरि पत्र काटेर उन्मुक्ति दिएको प्राधिकरण स्रोतले जानकारी दिएको छ ।

कम्पनीलाई गत पुसमा पत्र पठाउँदै प्राधिकरणले कुनै कारबाही नै नगरिकन सामान्य सचेत गराउने पत्र मात्र पठाएर कम्पनीलाई बचाएको हो ।

प्राधिकरणले सो विषयमा कम्पनीलाई कारबाही गर्नुपर्नेमा कारबाही नगरि त्यसको अनुसन्धानका लागि सूचना नदिएको बारेमा मात्र सूचनाको पहुँच सम्बन्धी कार्यबिधि निर्देशिकाअनुसार सचेत गराएको स्रोतले बतायो ।

‘यस्तो घट्नामा भायनेटलाई कारबाही नगर्ने हो भने भोली फेरी सो कम्पनीका ग्राहकहरुको डाटा लीक हुनसक्ने संभावना रहन्छ,’ स्रोतले भन्यो ।

स्रोतकाअनुसार लामो समय भईसकेको हुँदा सो घट्ना अब सामसुम पारिएको छ। सो घट्नामा भायनेटले प्राधिकरणका उच्च अधिकारीहरुलाई प्रभावित पारेको आशंका समेत प्राधिकरण स्रोतले गरेको छ।

‘भायनेटका मालिकहरुको प्राधिकरणका अधिकारीहरुसँग निकै घनिष्ठ सम्बन्ध भएको हुँदा कारबाही नगरिएको हुनसक्छ। अन्य आइएसपीहरुलाई भएको भए कारबाही र जरिवाना भईसक्थ्यो,’ स्रोतले जिकिर गरेको छ ।

सामान्य घट्ना र कमजोरीमा पनि अन्य साना आइएसपीहरुलाई कारबाही गर्ने प्राधिकरणले यस्तो संवेदनशिल डाटा लीकको घट्नामा  कम्पनीलाई जिम्मेबार बनाउन नसक्दा भोली अरुलाई समेत कारबाही गर्न कठिन हुने प्राधिकरण स्रोतको भनाई छ ।

यस्ता घट्नाहरुमा अन्तर्राष्ट्रिय प्रचलनअनुसार समेत डाटा लीक भएका कम्पनीहरुलाई नै जिम्मेबार बनाउने गरिन्छ भने ग्राहकहरुको डाटा चोरी वा ह्याक भएको सम्बन्धमा समेत कम्पनीलाई कारबाही गरिँदै आएको छ ।

यसको सबैभन्दा ज्वलन्त उदाहरण भनेको फेसबुकलाई विभिन्न देशहरुले गरेको कारबाही र जरिवाना हो । जसमा फेसबुकका प्रयोगकर्ताहरुको डाटा अन्य कम्पनीले उपयोग गरेको र लीक भएको थियो।

त्यसैगरि बेलायतमा मेरियट होटलका ग्राहकहरुको डाटा ह्याक भएको घट्नामा कम्पनीलाई जरिवानासहितको सेक्यूरिटी सुधारको कारबाही गरिएको थियो ।

लाखौं मानिसहरुको डाटा चोरिएको घट्नामा मेरियट होटल्स चेनलाई जरिवाना

बेलायतमा नै ब्रिटिस एयरवेजलाई समेत ग्राहकहरुको डाटा सुरक्षा गर्न नसकेको आरोपमा जरिवानासहित सचेत गराईएको थियो ।

यस्तो घट्नाहरुमा विदेशमा कारबाही र जिम्मेबार बनाउने गरिएपनि नेपालमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटलाई भने त्यस्तै घट्नामा उन्मुक्ती दिएको हो।

यो पनि हेर्नुस्-

भायनेट कम्युनिकेसन्सका इन्टरनेट सेवाग्राहीहरुको डाटा जोखिममा, छैन ‘यूजर एक्टिभिटी लग’

*सच्याईएको ।

TK Viber

प्रकाशित: ५ फाल्गुन २०७७, बुधबार

Loading...