विद्युत प्राधिकरणले भाडादर नघटाए इन्टरनेट सेवाको शुल्क बढ्नसक्ने आइस्पानको चेतावनी

Technology Khabar १ फाल्गुन २०७७, शनिबार

विद्युत प्राधिकरणले भाडादर नघटाए इन्टरनेट सेवाको शुल्क बढ्नसक्ने आइस्पानको चेतावनी

काठमाडौं ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल(आइस्पान)ले हालै नेपाल विद्युत प्राधिकरणले बढाएको पोलको भाडाले इन्टरनेटको सेवा शुल्क बढ्ने चेतावनी दिएको छ । हालै आइस्पानले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चारमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सरकारले सो भाडा रकम घटाउनुपर्ने बताएको छ।

आइस्पानका अध्यक्ष सुधिर पराजुलीद्धारा हस्ताक्षरित सो ज्ञापनपत्रमा प्राधिकरणले हचुवाको भरमा २०० प्रतिशतसम्म शुल्क बढाएको भन्दै त्यसले थप इन्टरनेटको शुल्क बढाउने चेतावनी दिएको हो ।

आइस्पानले नेपाल दक्षिण एशियामा नै सस्तो ब्रोडब्याण्ड सेवा प्रदान गर्ने देश भएको भन्दै आइस्पानले हाल नेपालको औसत इन्टरनेट मूल्य प्रति एमबिपिएस १.३७ डलर भएको बताएको छ। त्यसैगरि नेपाली ग्राहकहरुले औसतमा ६.८५ डलर प्रति महिना ब्रोडब्याण्डका लागि खर्चने गरेको भएपनि नेपालीहरु इन्टरनेटको पहुँचभन्दा बाहिर रहेको उल्लेख गरेकोछ ।

तर हालको अवस्थामा नेपाल विद्युत प्राधिकरणले आफ्नो ओपिजीडब्लु फाइबरमा भाडादर वृद्धि गरि प्रतिकिलोमिटर प्रति वर्ष ३२ हजार रुपैयाँ पुर्याएको र यो दोब्बरले वृद्धि भएको जनाएको छ ।

एकतर्फिरुपमा भाडा बढाईएको भन्दै त्यसले इन्टरनेट सेवा प्रदायकहरुलाई ठूलो मारमा पार्ने गुनासो गरेका छन् । यसले गर्दा आम उपभोक्ताहरुलाई समेत इन्टरनेटको मूल्यवृद्धि हुने अवस्था सिर्जित गर्ने र नागरिकमा इन्टरनेटको पहुँच पुर्याउन गाह्रो अवस्था तर्फ धकेल्ने चेतावनी समेत दिएको छ ।

यसका साथै आइस्पानले नेपाल विद्युत प्राधिकरणले फाइबरमा प्रति किलोमिटर प्रति वर्ष लिने भाडालाई १० हजार रुपैयाँ भन्दा कममा लानुपर्ने सुझाब समेत दिएको छ । यसका साथै पोलको भाडादरलाई समेत महानगरपालिकामा र उपमहानगरपालिकामा रु २५० प्रति पोल प्रति वर्ष गर्न माग गरेको छ भने नगरपालिकामा रु १५० प्रति पोल प्रतिवर्ष र गाउँपालिकामा रु ५० प्रति पोल प्रतिवर्ष भाडादर कायम गर्न माग गरेको छ ।

आइस्पानको ज्ञापनपत्रमा इन्टरनेट सेवा प्रदायकहरुलाई भने रोयल्टी रकम छुट दिनमाग गर्दै टेलिकम कम्पनीहरुले मात्र फ्रिक्वेन्सी प्रयोग गर्ने हुँदा उनीहरुलाई मात्र रोयल्टी लगाउन भनेको छ ।

यस बाहेक आइस्पानले आफूहरुले तिर्दै आएको विभिन्न किसिमका करहरुमा समेत छुट दिन माग गरेको छ ।

Global Bank
easy care

प्रकाशित: १ फाल्गुन २०७७, शनिबार

ताजा समाचार