इन्टरनेटको गलत प्रयोगबाट बालबालिका यौन शोषणमा पर्दै

Technology Khabar २८ माघ २०७७, बुधबार

इन्टरनेटको गलत प्रयोगबाट बालबालिका यौन शोषणमा पर्दै
Classic Tech

पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन् । नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ ।

सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका तथा नवयुवाविरुद्ध हुने अनलाइन यौन शोषणका घटनाहरू कम्प्युटर र साइबरको अवास्तविक दुनियाँलाई छिचोलेर प्रत्यक्ष भेटघाट र यौन शोषणसम्म विस्तार भएको पाइएको छ । यसरी यौन शोषणमा पर्नेहरूमा बालिका/किशोरीभन्दा झण्डै दोब्बर सङ्ख्यामा बालक/किशोरहरू रहेको देखाएको छ।

नौदेखि १९ वर्ष उमेर समूहका एक हजार ७१४ जना बालबालिका तथा किशोरकिशोरीहरूबीच गरिएको थुप्रै बालबालिकालाई अनलाइन यौन शोषणमा परेपछि विद्यालय छोड्न बाध्य गरेको र उनीहरूको दैनिक जीवनमा समेत असर परेको छ ।

अनलाइनमा नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब झेल्नेहरूमा केटीहरूको तुलनामा केटाहरूको सङ्ख्या अधिक रहेको पाइएको सिविनका कार्यकारी निर्देशक सिम्नीमा तुलाधरले जानकारी दिइन् ।

नग्न फोटो, अडियो तथा भिडियोहरू बनाएर पठाउनका लागि दबाब दिने वा बाध्य पार्नेहरूमा प्रेमी प्रेमिका, दौँतरी, सबैभन्दा नजीकका साथीहरू र कतिपय अवस्थामा अपरिचित व्यक्तिसमेत रहेको पाइएको छ । केही विदेशी मूलका मानिसहरू पनि त्यस्ता गतिविधिमा संलग्न भइरहेको अध्ययनले देखाएको छ ।

त्यसैगरी यौन प्रेरित सामग्रीहरू पठाउने माध्यममा प्रेमिका, प्रेमी, दौँतरी र सबैभन्दा नजीकको साथीको हकमा अधिक तर सामाजिक नेटवर्किङ साइटहरू र इमेल प्रयोगमा रहेको पाइएको छ भने अपरिचित र विदेशीलाई पठाउने माध्यमका रूपमा सामाजिक नेटवर्किङ साइटहरू, इमेल, अज्ञात लिङ्क र फोनसमेत प्रयोग भएको देखिएको छ । “अनलाइनमा ६३.३६ प्रतिशत पुरुष र ३४.३५ प्रतिशत महिलाले प्रत्यक्षरूपमा क्यामराको अगाडि नग्न देखिन बालबालिकालाई भनेका थिए, नग्न हुन दबाब दिनेहरूमा आफ्नै साथी, प्रेमिका वा प्रेमी, नातेदार, नजीकका साथी र कतिपय अपरिचितहरू पनि थिए”, अध्ययन प्रतिवेदनमा भनिएको छ ।

कूल उत्तरदातामध्ये, १३७ जना (७.९९ प्रतिशत) उत्तरदातालाई क्यामराको अगाडि नग्न देखिन भनिएको थियो । यसरी नग्न बस्न दबाब खेप्ने उत्तरदातामा ५८ (६२ प्रतिशत) केटा, ४७ (३४.३१ प्रतिशत) केटी र दुईजना (१.४६ प्रतिशत) लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति रहेका थिए । नग्न देखिन भन्नेमा आफ्नै साथीहरू, सबैभन्दा नजीकका साथी, प्रेमिका, प्रेमी, आफन्त, केही अपरिचितहरू, विदेशी र हेरचाहकर्ताहरूसमेत रहेका छन् ।

कूल उत्तरदाता एक हजार ७१४ मध्ये ४५७ जना (२६.६६ प्रतिशत) ले अनलाइनमा अपरिचित व्यक्तिलाई भेटेको पाइएको छ । यसरी अपरिचित व्यक्तिलाई अनलाइन भेट्ने उत्तरदाताहरूमध्ये १६३ जनालाई छुट्टै प्रत्यक्ष भेट्न भनिएकामा १५४ (३३ प्रतिशत) जनाले भने ती अपरिचित व्यक्तिसँग भेटघाट गरेका थिए । प्रत्यक्ष भेट्न जाने सबैले कुनै न कुनै रूपका यौन शोषणको अनुभव गरेका थिए ।

कूल उत्तरदातामध्ये ३४० जना (१९.८३ प्रतिशत) ले अनिच्छित अनलाइन यौन शोषण भोगेको उल्लेख गरेका छन् । यसरी अनलाइन यौन शोषणको सामना गर्ने उत्तरदातामा केटाको सङ्ख्या केटीको तुलनामा अधिक रहेको छ ।

अनलाइन यौन शोषणमा परेका उत्तरदाताहरूमा ठूलो मात्रामा मानसिक असर परेको पाइएको छ । उत्तर दिने क्रममा कतिपयले आफू मानसिकरूपमा समस्यामा परेको, कतिपयले पढाइमा ध्यान दिन नसकेको र मर्न समेत तयार रहेको तथा कतिपयले लामो समयसम्म दुःखी भएको बताएका थिए ।

अनलाइन यौन शोषणमा परेका ३४० उत्तरदातामध्ये ४८ (१४.१२ प्रतिशत) जनाले यौन शोषणसम्बन्धी घटना घटेपछि विद्यालय छोडेका छन् । विद्यालय छोडेकाहरूमध्ये १५ जनाले मात्र परामर्श सेवाको खोजी गरेका थिए भने ३४ जनाले आफूहरूलाई दैनिक जीवन व्यवहारमा बाधा परेको बताएका थिए । तीमध्ये नौजनाले मात्र परामर्श सेवा पाउन सकेका थिए ।

अनलाइन यौन शोषणको सामना गरेका ३४० जना उत्तरदातामध्ये २३३ (६८.५३ प्रतिशत) जनाले मात्र परिवार, साथी वा प्रहरीलाई खबर गरेका थिए । त्यसैगरी सामाजिक सञ्जाल तथा सम्पर्क ब्लक गर्ने, आएका कल तथा सन्देशहरूलाई उपेक्षा गर्ने, इन्टरनेटको प्रयोग बन्द गर्ने, सिमकार्ड परिवर्तन गर्ने र सामाजिक सञ्जालमा नयाँ एकाउन्ट खोल्ने कार्य गरेको बताएका थिए ।

अध्ययनमा कूल उत्तरदातामध्ये २५३ (१४.७६ प्रतिशत) जनाले आफू साइबर बुलिङको शिकार भएको बताएका थिए । उनीहरूमध्ये १७५ (१०.२१ प्रतिशत) जनाले आफ्नो बाबुआमालाई उनीहरूको इन्टरनेट बानी व्यवहार थाहा भएपछि पनि साइबर बुलिङको सामना गरेका थिए । अध्ययनअनुसार साइबर बुलिङको घटना सबैभन्दा बढी वाग्मती प्रदेशको काठमाडौं र मकवानपुरमा (२७ प्रतिशत) रहेको पाइएको छ भने दोस्रोमा प्रदेश नं २ को धनुषा (१८ प्रतिशत) रहेको छ ।

TK Viber

प्रकाशित: २८ माघ २०७७, बुधबार

Loading...