केयुकेएलको ट्यांकरबाट खानेपानी मगाउनेले अनलाइन र क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने

Technology Khabar २७ माघ २०७७, मंगलवार

केयुकेएलको ट्यांकरबाट खानेपानी मगाउनेले अनलाइन र क्यूआर कोडबाटै भुक्तानी गर्न सकिने
Classic Tech

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आफ्ना सम्पूर्ण सेवाहरुलाई अनलाइनमा लाने योजना बनाएको छ । कम्पनीले चालु आर्थिक वर्षभित्र आफ्ना सबै सेवाहरुलाई अनलाइनमा लाने उद्धेश्यले पहिलो चरणमा अनलाइन तथा क्यूआर भुक्तानीको सेवा शुरु गर्न लागेको छ।

कम्पनीले फागुन १ गते आफ्नो वार्षिकोत्सवको अवसर पारेर पहिलो चरणमा ट्यांकरबाट खानेपानी मगाउने सेवाग्राहीहरुको लागि अनलाइन तथा क्यूआर भुक्तानी सेवा ल्याउन लागेको हो ।

कम्पनीका आईटी शाखाका सहायक प्रबन्धक इन्जिनियर पूर्ण बहादुर कुँवरले चरणबद्धरुपमा कम्पनीका सेवाहरुलाई अनलाइनमा लाने योजना रहेको जानकारी दिए ।

‘हामीले यहि फागुन १ गतेभित्र ट्यांकर सेवा बापतको शुल्क भुक्तानीलाई अनलाइन तथा क्यूआरमा आधारित बनाउनेछौं र त्यसपछि क्रमश अन्य सेवाहरु समेत अनलाइनमा उपलब्ध हुनेछन्,’ उनले भने ।

कुँवरले कम्पनीको बिलिङ्ग वेब एप्लिकेसनमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने सुबिधा दिने जानकारी दिए ।

यसको लागि ट्यांकर सेवा उपयोग गर्ने ग्राहकहरुले उपलब्ध मोबाइल वालेटहरुबाट वा क्यूआर कोड प्रयोग गरेर भुक्तानी गर्न सक्नेछन् ।

मोबाइल वालेटबाट भुक्तानी गर्ने ग्राहकहरुले शुरुमा नै भुक्तानी गरेर आफ्नो ट्यांकर सेवाको पालो कतिखेर छ भनेर हेर्न सक्नेछन् भने क्यूआर कोडमार्फत भुक्तानी गर्नका लागि भने ट्यांकरमा नै क्यूआर कोड राख्ने व्यवस्था गरिनेछ ।

कम्पनीले क्यूआर तथा अनलाइनबाट भुक्तानीको लागि सेवा उपलब्ध गराउन इच्छुक कम्पनीहरुसँग सूचीबद्ध भएर सेवा दिनका लागि सार्वजनिक सूचना जारी गरेको छ । जसमा क्यूआर तथा अनलाइन प्रणालीबाट भुक्तानी गराउने कम्पनीहरुले कुनै अतिरिक्त शुल्क  नलिई वा नकटाई सेवा उपलब्ध गराउनका लागि भनेको छ ।

TK Viber

प्रकाशित: २७ माघ २०७७, मंगलवार

Loading...