Technology Khabar २५ माघ २०७७, आईतवार
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सामाजिक सञ्जालहरुलाई नियन्त्रण नगर्दा अराजकता भएको बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आइतबार पत्रकारहरुसँगको कुराकानीमा सामाजिक सञ्जालहरुलाई नियमन र नियन्त्रण गर्ने कानून नभएको गुनासो गरे ।
आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै उनले फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जालको कुनै कार्यालय नेपालमा दर्ता नहुँदा त्यसलाई नियन्त्रण गर्न नसक्दा अराजकता भएको भन्दै दूरसञ्चार लगायतका कुनै ऐनमा त्यस्ता विषयलाई सम्बोधन गर्नुपर्ने बताए।
उनले कार्यविधी बनाएर नियमन गरौं भन्दै दूरसञ्चारलगायत कुनै पनि ऐनमा सामाजिक सञ्जालको नियमन र नियन्त्रण सम्बन्धी व्यवस्था नरहेको बताए ।
‘ल्याउँन कार्यबिधि भन्यो दूरसञ्चार ऐनमा त्यस्तो व्यवस्था नै छैन् । ऐनले त्यो कुरा दिएको छैन् । केमा ल्याउनुपर्ने हो ल्याउनु पर्छ । छाडा छोड्नु हुँदैन्,’ मन्त्री गुरुङले भने ।
मन्त्री गुरुङले सामाजिक सञ्जालको छाडापन नियमनका लागि के गर्ने भनेर सबैको रायसमेत मागे ।
उनले तालिम प्राप्त पत्रकार नहुँदा बिकृती र बिसगति निम्तिएको भन्दै तालिम नभई बजारमा बिक्री नहुने हेक्का राख्न समेत पत्रकारहरुलाई सुझाब दिए ।
उनले पत्रकारको लागि प्रेस कार्डको लागि ५ वर्षको अवधि बनाउने प्रयास गर्ने र वार्षिकरुपमा नविकरण गर्ने कार्यलाई अन्त्य गर्ने बताए ।
प्रकाशित: २५ माघ २०७७, आईतवार