प्रविधि मैत्री बन्दै वालिङ नगरपालिका, स्मार्ट सिटी बनाउन सूचना प्रविधिको प्रयोगलाई जोड दिंँदै

Technology Khabar २५ माघ २०७७, आईतवार

प्रविधि मैत्री बन्दै वालिङ नगरपालिका, स्मार्ट सिटी बनाउन सूचना प्रविधिको प्रयोगलाई जोड दिंँदै
Classic Tech

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिका प्रविधि मैत्री बन्दै गएको छ । नगरपालिकाले स्मार्ट सिटी निर्माणको खम्बामध्ये सूचना प्रविधिको प्रयोगलाई जोड दिंँदै नागरिकलाई सहज सेवा दिने गतिमा अगाडि बढेको हो ।

प्रविधिको प्रयोगसँगै यहाँका नागरिकले राजस्व तथा कर बुझाउन कार्यालयमा जानुपर्ने अवस्थाको अन्त्य भएको छ । नगरपालिकाले डिजिटल माध्यमबाट सेवा दिनेगरी एप्स निर्माण गरी कार्यान्वयनमा ल्याएको नगर पालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्यालले बताए।

नगरपालिका तथा वडा कार्यालयले प्रदान गर्ने सबै प्रकारका सेवा समेटेर ‘स्मार्ट वालिङ एप’ निर्माण गरेको बताउँदै अर्यालले नागरिक/सेवाग्राहीले जुन सेवा लिनुहुन्छ,’ सोही सेवा बापतको शुल्क विभिन्न डिजिटल एपमार्फत भुक्तानी गर्ने बताए। ‘स्मार्ट वालिङ एप’ सहित कनेक्टिङ आईपीएस, खल्तीलगायत पाँचवटा डिजिटल माध्यमबाट सेवाग्राहीले भुक्तानी गर्नसक्ने अधिकृत अर्यालले बताए ।

नगरपालिकाले थालनी गरेको सूचना प्रविधिलाई नागरिकसम्म पुर्याउनुपर्ने बताउँदै अर्यालले कर्मचारी तथा सरोकारवालालाई आवश्यक तालिम तथा प्रशिक्षण दिइएको र वडा–वडामा नागरिकलाई प्रयोग गर्ने विधिका बारेमा जानकारी गराउन ‘स्मार्ट क्लब’ गठन गरिएको र सोही क्लब परिचालन गरिएको बताए ।

सेवाग्राहीको भीड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएकाले नगरवासीलाई निक्कै सहज हुने खल्ती डिजिटल वालेटका संस्थापक तथा निर्देशक अमित अग्रवालले बताए।

वालिङ नगरपालिका र खल्ती डिजिटल वालेटबीच सम्झौता भई कार्य थालनी भएको छ । डिजिटल माध्यमबाट नगरपालिकाले सेवा उपलब्ध गराएसँगै सेवाग्राही कार्यालय समयभित्र वा कार्यालयमै उपस्थित भइरहन आवश्यक नरहने स्वदेश तथा विदेशका जुनसुकै स्थानबाट पनि सेवा लिन वा भुक्तानी गर्न पाइने भएकाले समयको बचत र छिटो छरितो सेवा प्रवाह हुने विश्वास नगरपालिकाको रहेको छ ।

यहाँका जनप्रतिनिधि तथा कर्मचारी सबैले ‘डिजिटल सिग्नेचर’ मार्फत हस्ताक्षर गर्ने कार्यसमेत थालेका छन् ।

‘डिजिटल सिग्नेचर’ लाई विकसित गर्दै पेपरलेस पद्दतीबाट सेवा प्रवाह गर्ने रणनीति नगरपालिकाले अगाडि सारेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।आजको गोरखाप‍त्रबाट

TK Viber

प्रकाशित: २५ माघ २०७७, आईतवार

Loading...