लोकेसन ट्र्याकिङ्ग सेवाको अनुमति पत्र अबदेखि दूरसञ्चार प्राधिकरणले दिने

Technology Khabar २५ माघ २०७७, आईतवार

लोकेसन ट्र्याकिङ्ग सेवाको अनुमति पत्र अबदेखि दूरसञ्चार प्राधिकरणले दिने
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले अब भेहिकल ट्रयाकिङ्ग प्रणालीको लागि आवश्यक पर्ने लोकेसन ट्र्याकिङ्ग सेवालाई नियमन र खुला गर्ने निर्णय गरेको छ।

प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले सरकारको निर्देशनअनुसार लोकेसन ट्र्याकिङ्ग सेवा (Location Tracking Service)लाई नियमन गर्ने र खुला अनुमतिपत्र प्रदान गर्ने र त्यसको लागि नयाँ विनियमावली पारित गर्ने निर्णय गरेको हो ।

सो निर्णयअनुसार अब जो सुकैले पनि प्राधिकरणबाट अनुमतिपत्र लिएर सेवा उपलब्ध गराउन सक्नेछन् । यसअघि मन्त्रालयले लाइसेन्स दिँदै आएकोमा अब भने प्राधिकरणले नै त्यसलाई नियमन र लाइसेन्स प्रदान गर्ने भएको हो ।

सो प्रणाली हाल भेहिकल लोकेसन ट्र्याकिङ्गका लागि प्रयोग हुने गरेको छ भने विशेषगरि विभिन्न डिभाइसहरु कहाँ छन् भनेर पत्ता लगाउन प्रयोग गरिने गरिन्छ । यो सेवा प्रयोगमा रहेका डिभाइसहरु कहाँ छन् भनेर अनलाइन वा एप्समार्फत हेर्न सकिने हुन्छ ।

हाल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यस सेवाको प्रत्येक डिभाइसका लागि अनुमतिपत्र लिनुपर्ने प्रावधान लागू गरेको छ । तर अब भने सो सेवाको लागि एकै पटक ५ वर्षसम्मको अनुमति पत्र प्राप्त हुनेछ ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले लोकेसन ट्र्याकिङ्ग सेवाको लागि प्राधिकरणले नै नियमन गर्ने र त्यसको लागि आवश्यक कानूनी प्रावधानहरु पुरा गर्ने निर्णय भएको जानकारी दिए ।

‘यसअघि मन्त्रालयले दिँदै आएको लोकेसन ट्र्याकिङ्ग सेवाको लाइसेन्स अब ओपन लाइसेन्सको अवधारणमा जानेछ र प्राधिकरणले नै लाइसेन्स दिने र सेवाको नियमन गर्नेछ,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार यसको लागि अब एकैपटक ५ वर्षको लागि इच्छुक सेवा प्रदायकहरुलाई अनुमति पत्र दिने र त्यसको शुल्क २ लाख रुपैयाँ हुनेछ ।

सो अनुमति पत्र लिएपछि सेवा प्रदायकहरुले इच्छुक ग्राहकहरुलाई तोकिएको शुल्कमा सेवा उपलब्ध गराउनेछन् ।

‘नयाँ प्रावधानसँगै अब यसलाई सहज बनाउन र ग्राहकहरुको लागि सेवा शुल्क समेत घट्नसक्छ भने सबै सेवा प्रदायकहरु एउटै कानूनी मापदण्डमा आउनेछन्,’ उनले भने ।

मन्त्रालयले हाल उपलब्ध गराउने लोकेसन ट्र्याकिङ्ग सेवाको अनुमति पत्र प्रत्येक ग्राहकको लागि उपलब्ध गराउने हरेक डिभाइसको छुट्टाछुट्टैरुपमा लिने गरेको छ । जसमा प्रति डिभाइसको आधारमा अनुमतिपत्र दस्तुर १ हजार रुपैयाँ तोकिएको छ।

मन्त्रालयले नै प्राधिकरणलाई निर्देशन दिँदै सो सेवाको लागि तयार रहन र कानूनी प्रावधान तयार गर्न भनेको थियो । सोहीअनुसार प्राधिकरणले नयाँ सेवा खुला गरेको हो ।

प्राधिकरणले दूरसञ्चार ऐनको दफा १५ बमोजिम सेवा खुला गरेको हो ।

यो विनियमावली अब प्राधिकरणले मन्त्रालयमा पठाउने छ र त्यहाँबाट राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुनेछ।

यसको अनुमति पत्र लिने कम्पनीले भने सेवा लिने ग्राहकहरुको तथ्यांकहरु दूरुपयोग नहुनेगरि र गोपनियता कायम हुने गरेर राख्नुपर्नेछ ।

TK Viber

प्रकाशित: २५ माघ २०७७, आईतवार

Loading...