Technology Khabar २२ माघ २०७७, बिहीबार
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिकमको सेवा र कर्मचारीहरुको कामगराई प्रति आक्रोश व्यक्त गरेका छन् ।
सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजति कार्यक्रममा सञ्चार मन्त्रीले कम्पनीको सेवा र कर्मचारीको कार्य गर्ने तरिका माथि प्रश्न उठाएका छन् ।
उनले कम्पनीले जनतालाई सेवा पारदर्शी ढंगले दिनुपर्ने भन्दै ग्राहकहरुलाई सेवा दिनुपर्नेमा टावर नै नहुने गुनासाे आउने गरेको बताए । उनले आफुकहाँ विभिन्न स्थानबाट टावर नबनेको गुनासाे आउने गरेको बताए ।
‘म कहाँ आउने डेलिगेसनहरु मध्ये टावरको सबैभन्दा धेरै आउँछ । त्यो टावरहरु किन बनेनन् ?’ मन्त्रीले प्रश्न गरे, ‘यो गुनासो किन आउँछ ? सेवा पुगेको छ तर जनताले सो सेवा उपयोग गर्न पाएका छैनन् ।’
‘कहिलेसम्म हामीले त्यो टावर बनाईसक्छौं कहिलेसम्म त्यो पूर्वाधार बनाईसक्छौ ?’ उनले भने ।
उनले टेलिकमका कर्मचारी फिल्डमा जाँदै नजाने भन्दै मन्त्री गुरुङले कार्यविधि बनाएर फिल्डमा जानुपर्ने नियम बसाल्नुपर्ने बताए ।
‘तपाईँहरुले संस्थाको हितको निम्ती त्यो सहि छ भने मन्त्रालयले सम्बोधन गर्नेछ र पुरा गर्न तयार छ, तर कर्मचारीहरुको युनियनले पनि ग्राहकको हितको विषयमा भएन भने व्यक्तिगत माग हो कि भनेर हेर्नुपर्छ, ‘ मन्त्रीले भने ।
मन्त्री गुरुङले जुन व्यावसायिक लक्ष्यका साथ टेलिकमलाई कम्पनीमा रुपान्तरण गरिएको थियो सो लक्ष्य पुरा भएको महसुस गरेको बताए ।
उनले टेलिकममा शेयर हाल्नका लागि जुनसुकै कम्पनी आउन सक्छन् तर टेलिकममा लगानी भन्दा रणनितीक साझेदारको खाँचो भएको बताए ।
उनले भने, ‘नेपाल टेलिकमलाई अहिले लगानीको खाँचो होईन स्ट्राटेजिक पार्टनरको खाँचो हो । भोलीको बोर्ड बैठकले नै गर्दियो कि नेशनल लेभलमा वा इन्टरनेशनल लेभलको हुन्छ ।’
प्रकाशित: २२ माघ २०७७, बिहीबार