Technology Khabar २० माघ २०७७, मंगलवार
नेपालमा अर्ब रुपैयाँ आम्दानी गर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीहरु केबल २ वटा मात्र रहेको देखिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमति प्राप्त इन्टरनेट सेवा प्रदायकहरुको गत आर्थिक वर्षको तथ्यांक हेर्दा २ वटा प्रमुख कम्पनीहरुले मात्र अर्बमा आम्दानी गर्न सफल भएका छन् ।
प्राधिकरणबाट उपलब्ध पुस मसान्तसम्म वित्तीय बिबरण बुझाउने इन्टरनेट सेवा प्रदायहरुमध्ये वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र सुबिसु केबलनेट प्रालिले मात्र अर्बमा आम्दानी गर्न सफल भएका छन् ।
त्यसबाहेकका अन्य इन्टरनेट कम्पनीहरुले करोडमा आम्दानी गरिरहेका छन् । १० करोड भन्दा बढि आम्दानी गर्ने कम्पनीहरु निकै भएपनि अर्ब क्लबमा पर्ने इन्टरनेट सेवा प्रदायक भने २ वटा मात्र हुन् ।
गत आर्थिक वर्ष २०७६।७७ मा सबैभन्दा धेरै आम्दानी गर्न सफल भएको वर्ल्डलिंकले २ अर्ब ९५ करोड ५६ लाख २५ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।
त्यसैगरि दोस्रो स्थानमा रहेको सुबिसु केबलनेटले भने १ अर्ब ४२ करोड ५३ लाख ५५ हजार ५३५ रुपैयाँ आम्दानी गरेको छ ।
नेपालको दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर, अघिल्लो आवको तुलनामा ११ अर्ब बढीले संकुचित
अर्ब क्लब अर्थात ‘बिलियन क्लब’ मा भएका इन्टरनेट सेवा प्रदायकहरु बाहेक हेर्ने हो भने तेस्रो स्थानमा भायनेट कम्युनिकेसन्स प्रालि रहेको छ । जसले ८० करोड १२ लाख ३६ हजार ८२५ रुपैयाँ मात्र आम्दानी गर्न सकेको छ ।
अर्ब क्लबमा रहेको मध्ये वर्ल्डलिंकले इन्टरनेट सेवा प्रदायकहरु मध्ये सबैभन्दा धेरै ग्रामिण दूरसञ्चार विकास कोष(आरटिडिएफ) र रोयल्टी रकम तिरेको छ ।
प्राधिकरणको तथ्यांकअनुसार वर्ल्डलिंकले ५ करोड ९१ लाख १२ हजार ५ सय रुपैयाँ कोषमा आम्दानीको २ प्रतिशतको दरले प्राधिकरणलाई बुझाएको छ भने ४ प्रतिशत रोयल्टी बापत सरकारलाई ११ करोड ८२ लाख २५ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
अर्कोतर्फ दोस्रो धेरै आम्दानी गर्ने इन्टरनेट सेवा प्रदायक सुबिसुले प्राधिकरणलाई कोषमा २ करोड ८५ लाख ७ हजार ११० रुपैयाँ बुझाएको छ भने सरकारलाई रोयल्टी बापत ५ करोड ७० लाख १४ हजार २२१ रुपैयाँ तिरेको छ ।
कात्तिकसम्मको एमआईएस डाटा हेर्दा वर्ल्डलिंकले सबैभन्दा धेरै ग्राहकहरु बनाउन सफल भएको देखिएको छ । कम्पनीसँग सो अवधिसम्म ४ लाख २२ हजार १९९ जना सेवाग्राही छन् ।
त्यसैगरि अर्को कम्पनी सुबिसुले कात्तिक महिनासम्म १ लाख ६८ हजार ८९० जना ग्राहक बनाउन सफल भएको छ ।
यी दुबै कम्पनीहरुले वायरलेस, केबल र फाइबरमार्फत इन्टरनेट सेवा दिँदै आएका छन् ।
यी दुई इन्टरनेट सेवा प्रदायक कम्पनीहरु बाहेक टेलिकम अपरेटरहरुले मात्र अर्बमा आम्दानी गरेको तथ्यांकमा देखिन्छ ।
प्राधिकरणको तथ्यांकअनुसार हालसम्म १२७ इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले अनुमति प्राप्त गरेका छन् ।
यो पनि हेर्नुहोस्-
आम्दानीको आधारमा गत आर्थिक वर्षमा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यस्तो छ तथ्यांक
प्रकाशित: २० माघ २०७७, मंगलवार