आम्दानीको आधारमा गत आर्थिक वर्षमा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यस्तो छ तथ्यांक

Technology Khabar १८ माघ २०७७, आईतवार

आम्दानीको आधारमा गत आर्थिक वर्षमा एनसेलले नेपाल टेलिकमलाई उछिन्यो, यस्तो छ तथ्यांक
Classic Tech

सरकारी दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको आम्दानी निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको भन्दा करिब १२ अर्ब रुपैयाँ कम भएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) ले गत आर्थिक वर्षमा आम्दानी गरेको समग्र आम्दानीको तुलनामा एनसेल आजियाटा लिमिटेडले १२ अर्ब रुपैयाँ बढी आम्दानी गर्न सफल भएको छ।

नेपालका दुबै टेलिकम जायन्टहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएको गत आव २०७६।७७ को वित्तीय बिबरणअनुसार एनसेलले आम्दानीका साथसाथै सरकारलाई तिर्ने रोयल्टी र प्राधिकरणलाई ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बुझाउने मामलामा पनि नेपाल टेलिकमलाई उछिनेको छ।

प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमले गत आवमा ३४ अर्ब ७३ करोड ३३ लाख ३४ हजार ६०० रुपैयाँ आम्दानी गरेको छ भने सोहि आवमा एनसेल आजियाटाले ४६ अर्ब ७६ करोड ८३ लाख ८८ हजार २१६ रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

सो आधारमा हेर्दा एनसेलले नेपाल टेलिकमको भन्दा करिब १२ अर्ब ३ करोड रुपैयाँ अधिक आम्दानी गर्न सफल भएको हो ।

यसका साथै एनसेलले प्राधिकरणलाई तिर्नुपर्ने २ प्रतिशत आरटिडिएफमध्ये ९३ करोड ५३ लाख ६७ हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ भने यस्तो आरटिडिएफ बापतको रकम नेपाल टेलिकमले ६९ करोड ४६ लाख ६६ हजार रुपैयाँ बुझाएको छ ।

त्यसैगरि नेपाल टेलिकमले १ अर्ब ३८ करोड ९३ लाख ३३ हजार रुपैयाँ रोयल्टी सरकारलाई तिरेको छ भने एनसेलले १ अर्ब ८७ करोड ७ लाख ३५ हजार रुपैयाँ बराबर सरकारलाई रोयल्टी तिरेको छ ।

गत आवको कुल आम्दानी, सरकारलाई तिर्ने रोयल्टी र प्राधिकरणलाई बुझाएको आरटिडिएफको आधारमा एनसेल नेपालको नम्बर वान कम्पनी भएको देखिन्छ ।

दूरसञ्चार सेवा प्रदायकहरुले वार्षिकरुपमा सरकारलाई आम्दानीको ४ प्रतिशत रोयल्टी तिर्नुपर्ने कानूनी प्रावधान रहेको छ ।

टेलिकम अपरेटरहरुमध्ये उल्लेखित २ कम्पनीहरु बाहेक अन्य टेलिकम कम्पनीहरुले गत आवको कुनै वित्तीय बिबरणहरु तथा आरटिडिएफ र रोयल्टी बुझाएका छैनन् ।

TK Viber

प्रकाशित: १८ माघ २०७७, आईतवार

Loading...