नेपालको दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर, अघिल्लो आवको तुलनामा ११ अर्ब बढीले संकुचित

Technology Khabar १८ माघ २०७७, आईतवार

नेपालको दूरसञ्चार क्षेत्रमा कोभिड-१९ को असर, अघिल्लो आवको तुलनामा ११ अर्ब बढीले संकुचित
Classic Tech

नेपालको दूरसञ्चार क्षेत्र कोरोना महामारीको कारणले उच्च अंकले खुम्चिएको छ । कोरोना भाइरस महामारीको त्रास र रोकथामको लागि नेपालसहित विश्वभर भएको लामो अवधिको लकडाउन र दूरसञ्चार सेवाको न्यून प्रयोगले गर्दा नेपाली दूरसञ्चार क्षेत्र नराम्ररी खुम्चिन बाध्य भएको छ।

गत आर्थिक वर्षको तथ्यांक हेर्दा नेपाली दूरसञ्चार क्षेत्र ९० अर्ब रुपैयाँमा नै खुम्चिने देखिन्छ।

नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार आर्थिक वर्ष २०७६।७७ मा समग्र दूरसञ्चार क्षेत्रको आम्दानी ९० अर्बको हाराहारीमा रहने देखिएको हो।
प्राधिकरणकाअनुसार सो आवमा हालसम्मको तथ्यांकअनुसार करिब ८७ अर्ब ३० करोड ३२ लाख रुपैयाँ दूरसञ्चार सेवा प्रदायकहरुले आम्दानी गर्न सफल भएका छन् ।

प्राधिकरणकाअनुसार गएको पुस मसान्तसम्म वित्तीय बिबरण बुझाएका दूरसञ्चार सेवा कम्पनीहरुको आर्थिक बिबरणअनुसार ९० अर्ब रुपैयाँमा नै समग्र दूरसञ्चार क्षेत्र खुम्चिएको देखिएको छ ।

टेक्नोलोजीखबरलाई प्राप्त तथ्यांकअनुसार गत आवमा दूरसञ्चार सेवा प्रदायकहरुमध्ये प्राधिकरणमा ५७ कम्पनीहरुले आफ्नो वित्तीय बिबरणहरु बुझाईसकेका छन् । प्राधिकरणकाअनुसार करिब ११६ वटा कम्पनीहरुले गत आवको वित्तीय बिबरणहरु बुझाउनुपर्ने हुन्छ।

अधिकांश सबै ठूला कम्पनीहरुले वित्तीय बिबरण बुझाईसकेका छन् केहि ठूला इन्टरनेट सेवा प्रदायकसहित साना कम्पनीहरुले पुस मसान्त भित्र बिबरण बुझाएका छैनन् ।

पुस मसान्तसम्म वित्तीय बिबरण नबुझाउने कम्पनीहरुमा इन्टरनेट सेवा प्रदायकहरुमध्ये ब्रोडलिंक नेटवर्क एण्ड कम्युनिकेसन्स प्रालि, क्लासिक टेक प्रालि, मर्कन्टायल कम्युनिकेसन्स प्रालि टेकमाइन्डस नेटवर्क प्रालि, वेब सर्फर नेपाल कम्युनिकेसन्स प्रालिलगायतका कम्पनी रहेका छन् ।

प्रमुख र ठूला दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुले आफ्नो वित्तीय बिबरण बुझाईसकेको आधारमा हेर्दा नेपाली दूरसञ्चार क्षेत्र करिब ९० अर्ब रुपैयाँको हारीहारीमा रहने देखिएकोछ।

यसअघिको वर्ष दूरसञ्चार क्षेत्रले १ खर्बको अंक पार गरेकोमा गत आबमा भने करिब ११ अर्ब रुपैयाँले खुम्चिएको हो । अघिलो आर्थिक वर्ष २०७५।७६ मा समग्र नेपाली दूरसञ्चार क्षेत्रको राजश्व १ खर्ब १ अर्ब ३५ करोड रुपैयाँमा रहेको थियो ।

प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिनप्रसाद अर्यालले कोभिड-१९ को असर दूरसञ्चार क्षेत्रमा पनि परेको बताए।

‘गत आवमा ९० अर्बको हाराहारीमा नेपालको दूरसञ्चार क्षेत्रले राजश्व कमाएको देखिन्छ। अघिल्लो आवको तुलनामा यो निकै कम हो । कोभिड-१९ ले समग्र आर्थिक क्षेत्रमा असर पारे जस्तै दूरसञ्चार क्षेत्र पनि प्रभावित भएको देखिएको छ,’ प्रवक्ता अर्यालले भने ।

उनकाअनुसार केहि कम्पनीहरुले बिबरण बुझाउन बाँकी रहेको हुँदा हालको ८७ अर्बमा केहि अर्ब रुपैयाँ थप हुनसक्ने भएपनि अघिल्लो वर्षको तुलनामा यो रकम निकै कम हुनेछ।

मानिसहरु घरभित्रै खुम्चिएर बस्दा दूरसञ्चार सेवाको प्रयोग डाटा सेवा बाहेक निकै कम भएको हुँदा कम्पनीहरुको आम्दानी कम भएको हुनसक्ने प्रवक्ता अर्यालले अनुमान गरे ।

समग्र आम्दानीमध्ये सबैभन्दा धेरै हिस्सा सरकारी कम्पनी नेपाल टेलिकम र निजी कम्पनी एनसेल आजियाटाको रहेको देखिन्छ । यी दुबैले मात्रै करिब ७१ अर्ब आम्दानी गरेका छन् । प्राधिकरणको तथ्यांकअनुसार नेपाल टेलिकमले गत आवमा ३४ अर्ब ७३ करोड ३३ लाख ३४ हजार ६०० रुपैयाँ आम्दानी गरेको छ भने सोहि आवमा एनसेल आजियाटाले ४६ अर्ब ७६ करोड ८३ लाख ८८ हजार २१६ रुपैयाँ आम्दानी गर्न सफल भएको छ।

यसअघि नै प्रमुख टेलिकम कम्पनीहरुले आफ्नो त्रैमासिक वित्तीय बिबरणहरुमार्फत नै आम्दानी खुम्चिएको सार्वजनिक गरिसकेका थिए ।

त्यसैगरि विभिन्न प्रक्षेपणहरुले विश्व टेलिकम बजारमा अझै सन् २०२३ सम्म स्पष्ट वृद्धि र सुधार नदेखिने बताउँदै आएका छन् ।

TK Viber

प्रकाशित: १८ माघ २०७७, आईतवार

Loading...