नयाँ दूरसञ्चार ऐन अध्यादेशमार्फत ल्याउने सञ्चार मन्त्रालयको तयारी

Technology Khabar १६ माघ २०७७, शुक्रबार

नयाँ दूरसञ्चार ऐन अध्यादेशमार्फत ल्याउने सञ्चार मन्त्रालयको तयारी
Classic Tech

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले दूरसञ्चार ऐनलाई अध्यादेशमार्फत ल्याउने बताएका छन् ।

उनले बिहिबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको इन्टरनेट सेवा प्रदायकहरुसँगको छलफलमा अध्यादेशबाट दूरसञ्चार ऐन ल्याउने भन्दै त्यसमा समेत सुझाब माग गरेका थिए ।

उनले सञ्चार मन्त्रालयले दूरसञ्चार ऐनलाई अध्यादेशबाट ल्याउनका लागि प्रकृया अगाडि बढाईसकेको संकेत समेत दिएका छन्।

‘हामीले अध्यादेशबाट समेत दूरसञ्चार ऐन ल्याउने बारेमा तयारी गरिरहेका छौं, तपाईँहरुको केहि सुझाब भए भन्नुहोस्,’ सञ्चार मन्त्री गुरुङले कार्यक्रममा भनेका थिए ।

सो कार्यक्रममा मन्त्रीले पटक-पटक दूरसञ्चार ऐन अध्यादेशबाट ल्याउने विषय उठाएका थिए ।

अन्य सरोकारबालाहरुले भने नयाँ नियम कानून ल्याउँदा पर्याप्त छलफल गर्नुपर्ने जिकिर गरेका थिए ।

एनसेलका प्रतिनिधि रमेश घिमिरेले ऐनमा थप छलफल गर्नुपर्ने र सरोकारबालाहरुको धारणा समेत समावेश गर्नुपर्ने भनेका थिए ।

‘नयाँ नीति, नियमहरुमा र ऐनमा सरोकारबालाहरुसँग छलफल गरिनुपर्दछ र उनीहरुको धारणालाई सम्बोधन गरिनुपर्दछ, उनले भनेका थिए ।

अन्य वक्ताहरुले समेत ऐनलाई थप छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

तर मन्त्री गुरुङसहित सरकारी अधिकारीहरुले भने यसअघि नै सरोकारबालाहरुसँग छलफल गरिसकिएको र सुझाब लिईसकिएको भन्दै स्मरण गराएका थिए ।

मन्त्रालय स्रोतले पनि नयाँ ऐन अध्यादेशबाट ल्याउने गरि मन्त्रालयले तयारी गरेको जानकारी दिएको छ ।

‘दूरसञ्चार नीति सहितका अन्य नीतिहरु आउँदै गर्छन् तर त्यसअघि नै मन्त्रालयले ऐन ल्याउने तयारी सहित छलफल गरिँदैछ’, स्रोतले दाबी गर्यो ।

तर मन्त्रालयका सहसचिव तथा प्रवक्ता डिलिराम शर्माले भने सो मस्यौदा छलफलको क्रममा नै रहेको जिकिर गरे ।

‘एनटिएले पठाएको मस्यौदा अहिले छलफलमा नै छ । हामीले त्यसमा आन्तरिकरुपमा र सरोकारबालाहरुसँग छलफल गरिएका छौं,’ उनले भने ।

यसअघि नै मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणसँग ऐनलाई परिमार्जित गरेर समयानुकुल बनाउन भन्दै जिम्मा दिएको थियो भने सोहि अनुसार प्राधिकरणले ऐनको मस्यौदा गत असोज महिना नै मन्त्रालयमा बुझाएको थियो ।

नयाँ ऐनले ग्रामीण दूरसञ्चार विकास कोषलाई खारेज गर्नेछ भने नयाँ दण्ड र जरिवानाको प्राबधानहरु राखिएका छन् ।

सम्बन्धित-

नयाँ ऐनमार्फत ग्रामीण दूरसञ्चार विकास कोष खारेज गरिँदै, के हुन्छ त्यहाँ जम्मा भएको रकम ?

TK Viber

प्रकाशित: १६ माघ २०७७, शुक्रबार

Loading...