सञ्चार मन्त्री गुरुङले चेतावनी दिँदै भने- ‘इन्टरनेट सेवाको गुणस्तर निकै कमजोर छ, सुधार्नुस्’

Technology Khabar १५ माघ २०७७, बिहीबार

सञ्चार मन्त्री गुरुङले चेतावनी दिँदै भने- ‘इन्टरनेट सेवाको गुणस्तर निकै कमजोर छ, सुधार्नुस्’
NTC_Advt

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ* इन्टरनेट सेवाको गुणस्तर निकै कमजोर भएको र ग्राहकहरुलाई सन्तुष्ट पार्न नसकेको भन्दै इन्टरनेट सेवा प्रदायकहरु प्रति चेतावनी दिएका छन् ।

मन्त्री गुरुङ बिहिबार आयोजित एक अन्तरक्रिया कार्यक्रममा देशभर कतैपनि इन्टरनेट सेवा भनेजस्तो भरपर्दो र गुणस्तरीय नभएको तथा ग्राहकहरुलाई प्राथमिकता नदिईएको भन्दै सेवा प्रदायकहरुको कडा अनुगमन गर्ने चेतावनी दिएका हुन् ।

उनले आफ्नै गृहजिल्ला दोलखामा भुकम्प प्रभावितहरु बासिन्दाहरुलाई उपलब्ध गराईएको इन्टरनेट सेवाको बारेमा उदाहरण दिँदै सेवाग्राहीहरुले गुणस्तरीय सेवा नपाएको दाबी गरेका हुन् ।

‘टावर देखाउनको निम्ती टावर राखिएको होला तार देखाउनका लागि तार राखिएको होला आजै म लिस्ट हेर्दै छु दोलखाजिल्लामा मर्कन्टायलले जिम्मा लिएको सेवा नै सन्तुष्ट छैनन्,’ मन्त्री गुरुङले भने ।

उनले मन्त्रीहरुलाई नै गलत जानकारी दिने गरेको आशंका व्यक्त गर्दै ग्राहकहरुलाई नै कसरी व्यवहार गर्नुहुन्छ भन्ने प्रश्न गरेका थिए । उनले जसले सेवा पुर्याएपनि सेवा कमजोर हुँदा सरकारप्रति आक्षेप आउने गरेको भन्दै त्यसमा सजग हुनुपर्ने बताए ।

‘अब अर्कोपटक कुनैपनि कस्टमरको तर्फबाट गुनासो नआउने गरी व्यवस्थापन गर्न अनुरोध गर्दछु । हामी तपाईँहरुलाई आन्तरिकरुपमा अहिले सुझाब दिँदैछौं,’ उनले भने ।

मन्त्री गुरुङले ज-जसले जिम्मा लिएको छ त्यसलाई नेपाल दूरसञ्चार प्राधिकरणले अनुगमन गरिरहेको र त्यसलाई पनि मन्त्रालयले थप अनुगमन गर्ने बताए ।

‘एनटिएले अनुगमन गर्दछ भन्ने हाम्रो विश्वास छ तर अझैपनि गुनासो आईरहेको छ । सरकारले दिएको रकमको कागतमा मात्र देखिएको हो की ?,’ मन्त्री गुरुङले भने ।

‘तपाईँहरुलाई पारिवारिकरुपमा कमी सुधार्ने अवसर पनि हो र सुधार गर्नुस्,’ उनले चेतावनीको भाषामा भने ।

मन्त्री गुरुङले निजी सेवा प्रदायक एनसेलले समेत के गरिरहेको छ भनेर सरकारले हेर्ने र कसैलाई मात्र लाभ भईरहेको भए त्यसमा पनि हेर्ने बताए। उनले कम्पनीहरुले समाजिक संस्थागत उत्तरदायित्वअन्तरगत के के गरिरहेका छन भने नदेखिएको भन्दै यसलाई पारदर्शि बनाउन लाग्ने बताएका थिए ।

‘फाइनल्ली त्यो सुलभ हुनुपर्यो र सस्तो हुनुपर्यो र गुणस्तीय पनि हुनुपर्यो । त्यसको निम्ती विभिन्न बहानामा कस्टमरलाई स्याटिस्फाइ बनाउनुभएको भए त राम्रै हो तर कस्टमरलाई स्याटिस्फाइ छैनन्,’ मन्त्री गुरुङले दाबी गरे ।

कार्यक्रममा इन्टरनेट सेवा प्रदायकहरुको तर्फबाट आइस्पानका अध्यक्ष सुधिर पराजुलीले शहरभरी इन्टरनेटका तारहरु अव्यवस्थित भएको हुँदा त्यसलाई व्यवस्थित बनाउनुपर्ने दूर्गम भेगमा इन्टरनेटको पहुँच पुर्याउन सरकारले सहयोग गर्नुपर्ने पूर्वाधार कम्पनी स्थापना गर्नुपर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।

त्यसैगरि एनसेलका प्रतिनिधि रमेश घिमिरेले आफूहरुलाई विदेशी मुद्रा भुक्तानीमा कठिनाई भएको भन्दै त्यसलाई सहजीकरण गरिदिन अनुरोध गरेका थिए ।

३ हजार भन्दा बढि टावर बनाईसकेको र नयाँ पूर्वाधार कम्पनीले त्यसलाई कसरी लिन्छ भन्ने स्पष्ट नभएको भन्दै पूर्वाधार सेयरिङ्ग गर्न कठिन हुने बताए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक* डिल्लीराम अधिकारीले समेत हालको पूर्वाधार अन्य कम्पनीहरु सेयरिङ्ग गर्न कठिन हुने अवस्था रहेको भन्दै हिमाली क्षेत्रहरुमा टावर राख्न कठिनाई भोगिरहेको बताए ।

त्यस्तै नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ससक्तरुपमा अनुमगमन गरिरहेको र भविश्यमा थप अनुमगन गरिने भन्दै पूर्वाधार कम्पनी ल्याउन तिब्रगतिमा काम गरिरहेको जानकारी दिए ।

हेर्नुस मन्त्री गुरुङले के भने अन्तरक्रियामा-

*सच्याईएको

प्रकाशित: १५ माघ २०७७, बिहीबार