दूरसञ्चार पूर्वाधार कम्पनी ल्याउने विषयमा सञ्चार मन्त्री गुरुङ र इन्टरनेट सेवा प्रदायकहरुबिच जुहारी

Technology Khabar १५ माघ २०७७, बिहीबार

दूरसञ्चार पूर्वाधार कम्पनी ल्याउने विषयमा सञ्चार मन्त्री गुरुङ र इन्टरनेट सेवा प्रदायकहरुबिच जुहारी
Classic Tech

दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ* र इन्टरनेट सेवा प्रदायकहरुबिच विवाद भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज आयोजना गरेको इन्टरनेट सेवा प्रदायकहरुसँगको छलफलको बीचमा सञ्चार मन्त्री गुरुङ तथा इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) का पदाधिकारीहरुबिच जुहारी नै चलेको हो ।

मन्त्री गुरुङले कार्यक्रमको अन्त्यतिर पूर्वाधार कम्पनी एउटा मात्रै बनाउने र त्यसमा सबैले कसरी सहभागिता जनाउन सकिन्छ भन्ने बारेमा सुझाब दिन आग्रह गरेसँगै आइस्पानका सदस्यहरुले त्यसको जवाफमा दुईवटा कम्पनी बनाउनुपर्ने बताएका थिए । त्यसपछि मन्त्री र आइस्पानका सदस्यहरुबिच विवाद उत्पन्न भएको थियो ।

कार्यक्रमको अन्त्यमा समापन गर्ने क्रममा मन्त्रीले आफ्नो मन्तव्य राखेपछि नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अध्यक्ष तथा आइस्पानका पूर्व अध्यक्ष दिलिप अग्रवालले मन्त्रीको भनाई काट्दै पूर्वाधारको लागि दुईवटा कम्पनी आवश्यक पर्ने विचार राखेका थिए ।

उनको विचार सुने लगत्तै मन्त्रीले समय दिँदा नबोल्ने तर अन्त्यमा यस्तो फरक कुरा भन्न नहुने भन्दै असहमति जनाएका थिए ।

‘तपाईँहरुलाई अघि समय दिँदा कोहि बोल्नुभएन अहिले पूर्वाधार कम्पनीको बारेमा भने यस्तो कुरा ल्याउनुहुन्छ,’ मन्त्रीले अग्रवाललाई भनेका थिए ।

त्यसअघि मन्त्री गुरुङले उनको बारेमा छेउमै रहेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई उहाँ को हो भनेर सोधेका थिए ।

अग्रवालको भनाईपछि मन्त्री गुरुङले सरकारले एउटा मात्र पूर्वाधार कम्पनी ल्याउनका लागि प्रकृया अगाडि बढाईसकेको र त्यसमा केहि समयअघि आईस्पानका अध्यक्ष सुधिर पराजुलीले समेत सुझाब दिएको जानकारी गराए ।

त्यसलगत्तै आइस्पानका अध्यक्ष पराजुलीले मन्त्रीलाई आफूले त्यस्तो नभनेको तथा सरकारी क्षेत्रबाट एउटा कम्पनी र निजी सेवा प्रदायकहरुको तर्फबाट अर्को पूर्वाधार कम्पनी ल्याउन भनेको जिकिर गरेका थिए ।

‘मन्त्री ज्यूलाई मैले एउटा मात्र कम्पनी भनेको होईन् । हाम्रो निजी क्षेत्रको तर्फबाट सबै समेटिने गरि एउटा कम्पनी भनेको हो दुई कम्पनी हुँदा प्रतिस्पर्धा समेत हुन्छ । मैले बुझाउन नसकेको होला, ‘ पराजुलीले भने ।

त्यसपछि मन्त्री गुरुङले उनलाई भनाई र बोली फेरेको आरोप लगाएका थिए ।

‘तपाईँले केहि दिनअघि एउटा मात्र कम्पनी भन्नुभएको थियो अहिले भने नाफा घाटाको हिसाब गरेर तपाईँ दुईवटा कम्पनी भन्नुहुन्छ । व्यवसायमा नाफाको लागि मात्र छलफल गर्नुभएन्,’ मन्त्रीले जवाफ फर्काउँदै भने ।

उनले सरकारले पूर्वाधार कम्पनी स्थापनाको प्रकृया अगाडि बढाईसकेको भन्दै सो बारेमा अहिले आएर विरोधाभाष कुरा गर्न नहुने भन्दै सो बारेमा अगाडि बढेको प्रकृयाको बारेपछि कुरा गर्ने भन्दै कार्यक्रम टुंग्याएका थिए ।

आजको कार्यक्रममा इन्टरनेट सेवा प्रदायकहरुका साथसाथै टेलिकम अपरेटरहरु तथा अन्य सरोकारबालाहरुलाई अन्तरक्रियाको लागि बोलाईएको थियो ।

सो छलफलमा इन्टरनेट सेवाका अन्य विषयहरुका साथै दुरसञ्चार पूर्वाधार कम्पनी बनाउने बारेमा छलफल भएको थियो ।

*सच्याईएको

TK Viber

प्रकाशित: १५ माघ २०७७, बिहीबार

Loading...