Technology Khabar १४ माघ २०७७, बुधबार
कतारको रेमिट्यान्स सेवा प्रदायक यूनिमोनी र नेपालको आइएमई पेबीच सेवा प्रदानसम्बन्धी समझदारी भएको छ।
यसअनुसार अब कतारमा रहेका नेपालीहरुले यूनिमोनी कतारमार्फत् सोझै नेपालमा रहेका व्यक्तिको आइएमई पे वालेटमा रकम पठाउन सक्नेछन् । यसरी कतारबाट पठाएको रकम आइएमई पे वालेट खाता भएकाले सहजै प्राप्त गर्ने बताइएको छ ।
यो सम्झौतापछि कतारबाट नेपालको आइएमई पेमा सिधै पैसा पठाउने यूनीमोनी पहिलो एक्सचेन्ज हुने बताइएको छ।
रोजगारी वा व्यापार व्यवसायका लागि कतारभर छरिएका नेपालीहरुले यूनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्ने गरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा आफुलाई निक्कै खुशी लागेको यूनिमोनी कतारका महाप्रवन्धक फ्ल्योद जोहनीले बताएको आइएमई पेद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
उनका अनुसार यसमा आइएमई पेमा दर्ता भएको मोबाइल नम्बर र प्राप्त गर्ने उपभोक्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिनेछ। कोभिड–१९ महामारीको समयमा उपभोक्ताहरुले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकालले बताए।
नेपालमा भित्रिने रेमिट्यान्सको मुख्य श्रोत कतार भएको उल्लेख गर्दै ढकालले यो सेवाको विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा कतारको योगदान बढ्दै जाने विश्वास व्यक्त गरे।
यूनिमोनीका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहज हुने विश्वास दुवै कम्पनीले गरेका छन्।
सेवा सुभारम्भका अवसरमा आइएमईले यूनिमोनी कतारमार्फत् पठाएको रकम प्रापकले सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रतिकरोबार ६० रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १४ माघ २०७७, बुधबार