मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्न ६ वटा कम्पनीहरु प्रारम्भिक सूचीमा

Technology Khabar १३ माघ २०७७, मंगलवार

मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्न ६ वटा कम्पनीहरु प्रारम्भिक सूचीमा
NTC_Advt

नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ ।

त्यसको लागि प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न प्रारम्भिक चरणमा ६ वटा कम्पनीहरु छनौट गरेको छ।

यसअघि आफैंले गुणस्तर परीक्षण गर्दै आएकोमा चालु आव २०७७।७८ देखि भने परामर्शदाता कम्पनीमार्फत मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्न लागेको हो ।

प्राधिकरणले गत कात्तिकमा भ्वाइस, डाटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा परेका आवेदन मध्येबाट पहिलो चरणमा मूल्याङ्कनका आधारमा ६ वटा कम्पनी छनोट गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । उनले यी कम्पनीहरुले गुणस्तर मापन गर्ने र त्यसको आधारमा प्राधिकरणले थप अध्ययन अनुसन्धान गर्ने जानकारी दिए ।

छनौटमा परेका कम्पनीहरुमा महाकाली मेची टेक्नोलोजी एण्ड सप्लायर्स, प्रोफेसनल बिजनेशन नेटवर्क, स्मार्ट म्यानेजमेन्ट एण्ड रिसर्चको जेभीका रुपमा जय बागेश्वरी कन्ट्रक्सन एण्ड सप्लायर्स चक्रपथ ललितपुर र इ-कोइल प्रालिको जेभीका रुपमा जलजला बिल्डर्स एण्ड इन्फ्रास्ट्रक्चर प्रालि तिनकुने काठमाडौं रहेका छन् । यसैगरी, इन्क्लुसिभ एभरेस्ट माइक्रोटेक जेभी र इन टेल्को सोलुसन प्रालि बालकुमारी ललितपुर छनौट भएका छन् ।

प्राधिकरणले पहिलो चरणमा छनोटमा परेका कम्पनीसँग दूरसञ्चार सेवाको गुणस्तर परीक्षणको आर्थिक र प्राविधिक प्रस्ताव माग गर्नेछ । त्यसअनुसार ६ कम्पनीले दिएको प्रस्तावका आधारमा प्राधिकरणले एक उत्कृष्ट कम्पनी छनोट गर्नेछ ।

चालु आवमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षणको लागि प्राधिकरणले ६० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

TK Viber

प्रकाशित: १३ माघ २०७७, मंगलवार

Loading...