प्रस्तावित फाइभजी फ्रिक्वेन्सी ब्याण्डले अन्य फ्रिक्वेन्सीहरुलाई पार्ने असरको अनुसन्धान गरिने

Technology Khabar १३ माघ २०७७, मंगलवार

प्रस्तावित फाइभजी फ्रिक्वेन्सी ब्याण्डले अन्य फ्रिक्वेन्सीहरुलाई पार्ने असरको अनुसन्धान गरिने
Classic Tech

नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी सम्बन्धी अध्ययनका लागि पुल्चोक इन्जिनियरिङ्ग क्याम्पससँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसका डिन प्रा.डा. शशिधर राम जोशीले सोमबार सो समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार क्याम्पसले ५ जीको लागि हाल प्रस्तावित फ्रिक्वेन्सी ब्याण्डले वर्तमान प्रयोगमा रहेका फ्रिक्वेन्सी ब्याण्डहरुलाई असर पार्ने वा नपार्ने बारेमा अध्ययन अनुसन्धान गर्नेछ ।

सो अध्ययन अनुसन्धानको लागि प्राधिकरणले वित्तिय सहयोग गर्नेछ भने प्राधिकरणको आवश्यकताअनुसार ५जी फ्रिक्वेन्सीले अहिलेको फोरजी, थ्रीजी र टूजी फ्रिक्वेन्सीमा असर पार्ने नपार्ने ल्याबमा अनुसन्धान गरिनेछ ।

सो अनुसन्धानको लागि क्याम्पसले सिमुलेसन तयार पार्ने र त्यसको लागि आवश्यक पर्ने उपकरणहरु र डिभाइसहरु ल्याउन प्राधिकरणले सहयोग गर्नेछ ।

प्राधिकरणका नियमन महाशाखाका निर्देशक अम्बर स्थापितले सो अध्ययनले आगामी दिनमा प्राधिकरणलाई फ्रिक्वेन्सी बितरण गर्न र व्यवस्थापन गर्न सहयोग पुग्ने बताए ।

‘हामीले हाल प्रस्तावित ५जी फ्रिक्वेन्सी ब्याण्डहरुले अन्य फ्रिक्वेन्सीहरुलाई कस्तो असर पर्छ भनेर अनुसन्धान गराउन लागेका हौं, पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले सो अनुसन्धान गरेर हामीलाई रिपोर्ट उपलब्ध गराउनेछ,’ निर्देशक स्थापितले टेक्नोलोजीखबरसँग भने ।

पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसले समझदारीअनुसार ९ महिनाभित्र त्यसको लागि ल्याब सिमुलेसन तयार पारेर ९ महिनाभित्र अनुसन्धान प्रतिवेदन दिनुपर्नेछ।

प्राधिकरणले चालु आवमा यसको लागि २० लाख रुपैयाँ बजेट छुट्याएको छ ।

यो पनि हेर्नुस्-

फाईभजीको लागि फ्रिक्वेन्सी सिफारिस, तर कहिले आउँछ नेपालमा फाईभजी टुंगो छैन्

TK Viber

प्रकाशित: १३ माघ २०७७, मंगलवार

Loading...