विद्यालयमा आविष्कार कार्यक्रम गर्दै महानगरपालिका

Technology Khabar १३ माघ २०७७, मंगलवार

विद्यालयमा आविष्कार कार्यक्रम गर्दै महानगरपालिका
फाइल

काठमाडौं ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न काठमाडौँ महानगरपालिकाले ‘आविष्कार कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितमा विद्यार्थीको सिर्जनात्मक पक्षको विकास तथा प्रस्फुटन गर्न महानगरभित्रका २५ वटा विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिने भएको हो ।

महानगरपालिकाले यसका लागि विद्यालय छनोट गरी सम्झौतासमेत गरिसकेको छ ।

काठमाडौँ महानगर शिक्षा शाखाका अधिकृत मोतीप्रसाद भट्टराईले विद्यार्थीमा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महानगरको आन्तरिक स्रोतबाट यस खालको कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिए । उनका अनुसार कक्षा ५ देखि ९ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको सिर्जनात्मक पक्ष सबल बनाउन हरेक माध्यमिक विद्यालयमा २० जनासम्मको समूह निर्माण गरिने छ ।

उक्त समूहले महिनामा दुईपटक बैठक बसेर प्राप्त नयाँ सिर्जनालाई विद्यालयमा साथीहरूसँग आदानप्रदान गर्नेछन् ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितमा विद्यार्थीले नयाँ कुराको सिर्जना गर्नुपर्नेछध्र विद्यार्थीको सिर्जनामा सहयोग होस् भनेर महानगरले हरेक विद्यालयलाई यसपटक एक लाख रुपियाँ सहयोग उपलब्ध गराएको छ ।

विज्ञान शिक्षकलाई समूहको अगुवा तोकिएको छ । यसका साथै विद्यालयले आफ्नो आन्तरिक स्रोत भएको अवस्थामा थप बजेटसमेत समूहलाई उपलब्ध गराउन सक्नेछन् । कार्यक्रमको संयोजन गर्ने जिम्मेवारी शिवपुरी माध्यमिक विद्यालयलाई दिइएको छ ।

यस समूहमा आबद्ध भएका विद्यार्थीबाट गरिएको सिर्जनालाई प्रदर्शनी गर्ने उद्देश्य राखिएको छ । एक अर्को विद्यालयका विद्यार्थीबाट भएको सिर्जनात्मक पक्षको अनुभव आदानप्रदान हुँदा विद्यार्थीको क्षमतामा अभिवृद्धि हुने जनाइएको छ ।

easy care

प्रकाशित: १३ माघ २०७७, मंगलवार

ताजा समाचार