द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण सुरु

Technology Khabar १२ माघ २०७७, सोमबार

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डीपीआर निर्माण सुरु

काठमाडौं ।

काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा डीपीआरको काम अगाडि बढाएको नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले काठमाडौँलाई तराईलगायत अन्तर्राष्ट्रिय सूचना महामार्गसँग जोड्न तथा काठमाडौँको सूचना प्रविधिलाई अहिलेको भन्दा थप सर्वसुलभ बनाउने उद्देश्यसहित काठमाडौँ–तराई/मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन डिजाइन तथा डीपीआरको काम सुरु भएको जानकारी दिए ।

फाइबर बिछ्याउने क्रममा कति लम्बाइको डक तथा कति फाइबर चाहिन्छ, कति ठाउँमा ‘पिकअप’ र ‘सेलेसिङ’ गर्नुपर्छ, कति लागत पर्न आउँछ लगायतका विषयमा डिजाइन र डीपीआरको काम सुरु गरिएको प्रबन्ध निर्देशक अधिकारीले बताए ।

द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन नेपाल टेलिकम र नेपाली सेनाबीच भएको समझदारी (एमओयू) अनुसार टेलिकमलाई चाहिने अप्टिकल फाइबरसँग सम्बन्धित आफ्नो ‘स्पेसिफिकेसन’ नेपाली सेनाको द्रुतमार्ग आयोजनालाई पठाइ सकिएको छ । टेलिकम र नेपाली सेनाबीच पुस १३ गते समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

अब नेपाली सेनाले द्रुतमार्ग निर्माणका क्रममा अप्टिकल फाइबरसँग सम्बन्धित टेलिकमको ‘स्पेसिफिकेसन’ अनुसारको ‘डक’ र त्यसमा अप्टिकल फाइबर राख्नेछ । काम सम्पन्न भइसकेपछि सेनाले सो फाइबर टेलिकमलाई हस्तान्तरण गर्नेछ । फाइबर बिछ्याउने क्रममा टेलिकम र सेनाको प्राविधिक टोलीले संयुक्त अनुगमन गर्नेछन् ।

प्रबन्ध निर्देशक अधिकारीले भने, ‘फाइबर बिछ्याउन लाग्ने खर्च टेलिकमले नेपाली सेनालाई उपलब्ध गराउने छ । द्रुतमार्गमा फाइबर बिछ्याउन टेलिकमले बोलपत्र आह्वान गर्नुपर्दैन । द्रुतमार्ग निर्माण गर्ने कम्पनीले नै फाइबर बिछ्याउने कामसमेत गर्नेछन् ।’

द्रुतमार्ग निर्माण र फाइबर बिछ्याउने काम समानान्तर रूपमा अगाडि बढ्ने र एकै साथ सम्पन्न हुनेछन् ।

‘‘अहिले तराई र पूर्व–पश्चिम राजमार्गलाई काठमाडौँसँग जोड्ने सूचना अप्टिकल फाइबर नेपाल विद्युत प्राधिकरणको हाइटेन्सन लाइनसँग मात्र आएको छ, जुन महँगो पनि छ र अहिलेको मागलाई पूर्तिसमेत गर्न सकिरहेको छैन’’, उनले भने, ‘‘सर्वसुलभ र अहिलेभन्दा सस्तो र भरपर्दो सूचना प्रविधिका लागि द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउनु आवश्यक छ ।’’ आजको गोरखापत्रबाट

easy care

प्रकाशित: १२ माघ २०७७, सोमबार

ताजा समाचार

स्मार्ट बोर्डबाट पठनपाठन सुरु

  • Technology Khabar
  • १३ बैशाख २०८१, बिहीबार