टेलिकमको टावर नटिप्दा मोबाइलमा फोन गर्न एक घण्टा पैदल यात्रा

Technology Khabar ८ माघ २०७७, बिहीबार

टेलिकमको टावर नटिप्दा मोबाइलमा फोन गर्न एक घण्टा पैदल यात्रा
सांकेतिक
Classic Tech

तनहुँको ग्रामीण भेग हिले खर्कमा मोबाइलको टावर नटिप्दा स्थानीयलाई कुराकानी गर्न एक घण्टाभन्दा बढी हिँड्नुपर्ने बाध्यता रहेको छ । आँबुखैरेनी गाउँपालिका–६ मा पर्ने हिले खर्कमा नेपाल टेलिकम, एनसेल दुवैका टावरले नटिप्दा सामान्य कुराकानी गर्नका लागि एक घण्टा टाढा पुग्नुपर्ने बाध्यता रहेको हो ।

स्थानीय हिले खर्क सामुदायिक होमस्टेमा पुगेका मनोज श्रेष्ठले त्यहाँ रहँदा मोबाइल टावरका कारण घरमा समेत कुराकानी गर्न नसकेको बताए ।

तनहुँको अग्लो चुचुरो छिम्केश्वरी घुम्न जाने पर्यटकका लागि बसाइको केन्द्रको रूपमा रहेको उक्त क्षेत्रमा टावरले नटिप्दा पर्यटकहरूलाई समेत असहज भएको वडाध्यक्ष सुनाराम गुरुङले जानकारी दिए ।

नजिक टेलिकमको टावर नहुँदा चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर फोन सम्पर्क गर्नुपर्ने बाध्यता रहेको कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिम्खडाले बताए। ‘यहाँ पनि ठूलो बस्ती छ, तर नजिकै टावर नहुँदा समस्यामा छौं, चितवनको टावर देखिने ठाउँमा पुगेर मात्र कुराकानी गर्न सक्छौं,’ सिम्खडाले भने ।

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले उक्त स्थान पर्यटकीय दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थान भएकाले टावर राख्ने विषयमा ताकेता गरिरहेको बताए ।

‘अहिले वडा नं. ५ मा टेलिकमको टावर राख्ने विषयमा कुराकानी भइरहेको छ, उक्त क्षेत्रमा विद्युत्को पोल गाडे पनि तार टाँग्ने काम नभएकाले केही समस्या भएको छ, अब विद्युत्को काम सके पछि टावर राखे र सञ्चार सुविधा उपलब्ध गराउँछौं,’ थापाले भने । आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: ८ माघ २०७७, बिहीबार

Loading...