उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपहरुलाई सुरुवाती पूँजी उपलब्ध गराउने

Technology Khabar ८ माघ २०७७, बिहीबार

उद्योग वाणिज्य महासंघले ५० वटा स्टार्टअपहरुलाई सुरुवाती पूँजी उपलब्ध गराउने
Classic Tech

नेपाल उद्योग वाणिज्य महासंघले नयाँ गठन गरेको स्टार्टअप एण्ड इनोभेसन समितिले नेपाली स्टार्टअपहरुलाई सहयोग गर्ने भएको छ।

नयाँ सोचसहितको व्यावसायिक योजना भएका तर पूँजी तथा व्यावसायिक कार्ययोजना नभएका व्यवसायीहरुलाई समितिले सहयोग गर्ने भएको छ।

समितिको पहिलो बैठकले सुरुमा पचास वटा स्टार्टअपहरुलाई सुरुवाती पूँजी उपलब्ध गराउने निर्णय गरेको छ। ती स्टार्टअपहरुलाई इन्भेष्टर फोरममार्फत सहयोग उपलब्ध गराउने छ ।

व्यवसायको छनौट तथा सहयोगको कार्यविधि बारे भने समितिले पछि तय गर्ने भएको छ।

समितिले स्टार्टअपहरुलाई सहयोग गर्नका लागि नीतिगत तहमा पहल गर्नेदेखि लिएर जनचेतना फैलाउनेसम्मका काम गर्ने निर्णय गरेको छ।

यसैगरि महासंघका कार्यकारिणी समिति सदस्य रन्जित आचार्यको संयोजकत्वमा गठित उक्त समितिले पूर्णता समेत पाएको छ। समिति सहसभापतिमा सिद्धान्तराज पाण्डे र सुमन शाक्य नियुक्त भएका छन्।

सदस्यहरूमा प्रकाश देव पालिखे,निरज खनाल, दिपेन्द्र चौलागाई, मौसमी श्रेष्ठ, सुमना श्रेष्ठ र स्वर्णा ताम्राकार चयन भएका छन्।

त्यस्तै आमन्‍त्रित सदस्यमा तेञ्जिङ्ग सोनर गोम्सर र कविराज जोशी चयन भएका छन्।

समितिको सल्लाहकारमा महासंघका पूर्व कार्यकारिणी समिति सदस्यद्वय ओम राजभण्डारी, शौरभ ज्योति र अनिल चित्रकार चयन भएको महासंघले जनाएको छ ।

सो कार्यक्रममा महासंघका अध्यक्ष  शेखर गोल्छाले नेपालको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा साना तथा मझौला उद्यम व्यवसाय नै भएकाले यो क्षेत्रलाई कसरी माथि उठाउन सकिन्छ र कामका लागि बाहिरने यूवा शक्तिलाई पर्याप्त रोजगारी सृजना गरी मुलुकभित्रै राख्न सकिन्छ भन्नेतर्फ महासंघको विशेष जोड रहेको स्पष्ट पारे। यसका लागि स्टार्ट अपमा आफूलाई स्थापित गरेका सफल उद्यमीहरूको सहयोग र सहकार्य महासंघले खोजेको बताए ।

महासंघका उपाध्यक्ष अंजन श्रेष्ठले कोभिडका कारण अर्थतन्त्रमा निकै धेरै चुनौतीहरू थपिएकाले मुलुकभित्र रोजगारी सृजना, कामका लागि वाहिरनु पर्ने बाध्यताको अन्त्य, पढे लेखेको यूवा वर्गलाई स्वदेशमै आकर्षित गर्नेतर्फ सबैको जोड हुनुपर्ने भन्दै महासंघले आफ्ना सवै समिति फोरमको परिचालन मार्फत मुलुकभित्र उद्योग व्यवसायको विस्तार, रोजगारी सृजनामा कार्य गर्ने बताए ।

TK Viber

प्रकाशित: ८ माघ २०७७, बिहीबार

Loading...