टेलिफोनको समस्या समाधान गर्न ज्ञापनपत्र, टेलिकमका कार्यालय प्रमुख ६ दिनदेखि बिदामा

Technology Khabar ७ माघ २०७७, बुधबार

टेलिफोनको समस्या समाधान गर्न ज्ञापनपत्र, टेलिकमका कार्यालय प्रमुख ६ दिनदेखि बिदामा
नेपाल टेलिकमको भद्राकाली प्लाजा सिंहदरबारमा रहेको केन्द्रिय कार्यालय ।फाइल
Classic Tech

रामेछाप जिल्लामा नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवामा पटक–पटक समस्या आएको भन्दै नेपाल पत्रकार महासङ्घ रामेछापले टेलिकम र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

महासङ्घले माघ २ गते शुक्रबारदेखि एडीएसल इन्टरनेट सेवा र टेलिफोन सेवामा समस्या आएको भन्दै सोमबार नेपाल टेलिकम मन्थलीमा विभिन्न छ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

पत्रकार महासङ्घ अध्यक्ष रमेश ढुङ्गेलको नेतृत्वको पत्रकारको टोलीले टेलिकम रामेछापका निमित्त प्रमुख सरोज मुखियालाई अबको तीन दिनभित्र टेलिफोन र एडीएसएलमा देखिएको समस्या समाधान गर्नुपर्ने माग गरेको छ ।

यस्तै सेवाग्राहीले मासिक रूपमा एडीएसएलको भुक्तानी गर्ने गरको भए पनि महिना दिन पुगेपछि नेट चले पनि नचले पनि बन्द गर्ने गरिएकाले नचलेको दिनको गणना गरी सबै सेवाग्राहीलाई क्षतिपूर्तिबापतको सेवा अवधि थप गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

जिल्ला र स्थानीय स्तरमा भइरहेको बढ्दो सहरीकरणसँगै नेपाल टेलिकमले दिनुपर्ने सेवा मागअनुसार दिनुपर्ने र त्यसका लागि क्षमता सीपलगायतका अन्य कामहरू तत्काल सुरु गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

यता गत पुस २९ गते माघे सङ्क्रान्ति मनाउन घर गएका टेलिकम रामेछापका प्रमुख विष्णुप्रसाद भण्डारी ६ दिन बितिसक्दा पनि कार्यालयमा उपस्थित नभएको पाइएको छ ।

टेलिफोन गरेर नेट र फोन सेवाको गुणस्तरीयता बारेमा जानकारी लिन खोज्दा प्रमुख भण्डारीले प्रशासन र पत्रकार महासङ्घलाई चाहिँ चासो नहुने तपाईंहरूलाई के चासो भनेर गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने गरेको सेवाग्राहीले समेत गुनासो गरेका छन् ।

ज्ञापनपत्र बुझाउन पत्रकार महासङ्घको टोलीसँगै प्रशासन पुगेका सेवाग्राहीहरूको गुनासो सुनेपछि प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईंले आफूले त्यस बारेमा बुझ्ने बताएका छन् ।

टेलिकम प्रमुख भण्डारीको बिदाका सन्दर्भमा लामो समयसम्म बिदामा बस्ने गरेको बारे आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ । आजको गोरखापत्रबाट ।

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...