३ महिनादेखि हराएका अलिबाबाका संस्थापक ज्याक मा सार्वजनिक कार्यक्रममा देखिए

Technology Khabar ७ माघ २०७७, बुधबार

३ महिनादेखि हराएका अलिबाबाका संस्थापक ज्याक मा सार्वजनिक कार्यक्रममा देखिए
Classic Tech

चिनियाँ ई–कमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याक मा करिब ३ महिनापछि सार्वजनिकरुपमा देखा परेका छन् । यसअघि सार्वजनिक रुपमा हराएका भनिएका ज्याक माको एन्ट कम्पनीमाथि अनुसन्धान सुरु भएपछि पहिलोपटक सार्वजनिक भएका हुन् ।

सार्वजनिक स्थलमा नदेखिएसँगै ज्याक मा हराएको आशंका गरिएको थियो । साथै केहीले भने सरकारले उनलाई नियन्त्रणमा राखेको हुन सक्ने अनुमान गरेका थिए ।

ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाको महामारी सकिएपछि आफूहरू फेरि भेट्ने बताएका छन्। यो अवार्ड माकै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको छ।

उक्त सम्मेलनमा ज्याक मा देखिएसँगै त्यसको सकारात्मक असर अलिबाबाको शेयर बजारमा पनि देखिएको छ । ज्याक मा सार्वजनिक भएको समाचारसँगै अलिबाबाको शेयर मूल्य पाँच प्रतिशतभन्दा बढी बढेको छ।

गत अक्टोबरमा ज्याक माले चीनको वित्तीय नियामकको आलोचना गर्दै अभिव्यक्ति दिएका थिए । माको एन्ट ग्रुपले केही समयअघि संसारकै ठूलो आइपिओ जारी गर्न लागेको थियो तर सांघाई स्टक एक्सचेन्जमा अन्तिम समयमा एन्टलाई आइपिओ जारी गर्नबाट रोकिएको थियो।

त्यसयता ज्याक मा सार्वजनिकरुमा देखिएका थिएनन् ।

उनको कम्पनी एन्टमाथि अनुसन्धान सुरु गरिएको थियो भने त्यसपछि उनीमाथि समेत कडाई गरिएको बताईएको थियो । एजेन्सी

TK Viber

प्रकाशित: ७ माघ २०७७, बुधबार

Loading...