यसरी सजिलै आफ्नो प्यान नम्बर नागरिक एपबाट लिनुस्, फलो गर्नुस् यी स्टेपहरु

Technology Khabar ६ माघ २०७७, मंगलवार

यसरी सजिलै आफ्नो प्यान नम्बर नागरिक एपबाट लिनुस्, फलो गर्नुस् यी स्टेपहरु
Classic Tech

सरकारले शुक्रबारदेखि नयाँ नागरिक एप सञ्चालनमा ल्याएको छ । परीक्षणकै क्रममा रहेको नागरिक एपबाट सहजै स्थायी लेखा नम्बर अर्थात ‘प्यान’ दर्ता हुने सुविधा उपलब्ध गराएको छ । सरकारले लाईनमा हैन अनलाईनमा भन्ने नाराका नागरिक एप सञ्चालनमा ल्याएको हो । एप प्रयोगकर्ताले सरकारी कार्यालय नधाई प्यान दर्ता गर्न पाउनेछन् ।

यसबाट हरेक दिन चौबिसै घण्टा सरकारी सेवामा जनताको पहुँच कायम हुने अपेक्षा गरिएको छ । त्यसै अनुरुप नागरिक एपमार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गरेका छन् ।

एपबाट आफ्नो प्यान दर्ता कसरी गर्ने ?

प्यान लिन आफ्नो मोबाइलको नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ । नागरिक एप एन्ड्रोइड तथा आईओएस दुबै स्मार्टफोनमा बीटा भर्सनमा उपलब्ध छ ।

-एप डाउनलोड गरेपछि अब एप खोल्नुहोस् र भाषा छनोट गर्नुहोस् । यदि मोबाइलमा डार्क मोड अन गर्नुभएको छ भने त्यसलाई बन्द गर्न भने नबिर्सिनुहोस् ।

-अब त्यसमा आफ्नो मोबाइल नम्बर राख्नुहोस् । तपाईंले अरुको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न । त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र ‘अगाडि बढ्नुहोस्’ ।

-यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईंकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएसमार्फत ६ अंकको ओटीपी पठाउँछ ।

-उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः ‘अगाडि बढ्नुहोस्’ लेखिएको स्थानमा दबाउनुहोस् । मोबाइल नम्बर प्रमाणीत गराएजस्तै एपमा दर्ता हुन तपाईंले परिचयपत्रबाट आफ्नो विवरण समेत प्रमाणीत गराउनुपर्ने हुन्छ ।

-त्यसका लागि नागरिकता, मतदाता परिचयपत्र वा राहदानीमध्ये कुनै एउटा विकल्प रोज्नुहोस् र त्यसै अनुसार विवरण भर्नुहोस् । अगाडि बढ्नुहोस् ।

-यदि तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ । त्यससँगै एउटा फाराम खुल्छ ।

-त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस् । यति गरेसँगै नागरिक एपमा तपाईंको दर्ता प्रक्रिया पुरा हुन्छ । अब यसमा पिन कोड राखेर तपाईं एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ।

-अब सुरुमा नागरिक एप खोल्नुहोस् । नागरिक एपबाट प्यान लिन तपाईंले आफ्नो नागरिकता विवरण पुष्टी गराउनुपर्ने हुन्छ ।

-त्यसका लागि नागरिकता लेखिएको स्थानमा थिच्नुहोस् । त्यसको नम्बर, जारी भएको जिल्ला, जन्म मिति र जारी भएको मिति उल्लेख गर्नुहोस् ।

-तपाईंले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा नागरिकता विवरण तत्कालै प्रमाणीकरण हुन्छ । यदि तपाईंले नागरिक एपमा खाता खोल्ने क्रममा नै नागरिकता विवरण भरिसक्नुभएको छ भने यो प्रक्रिया दोहो¥याइरहनु पर्दैन ।

-अब प्यान लेखिएको स्थानमा थिच्नुहोस् र त्यसको अन्तिममा रहेको प्यान दर्ता गर्नुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।

-त्यसपछि आफूलाई पायक पर्ने राजस्व कार्यालय छान्नुहोस् । अब त्यहाँ तपाईंले एपमा प्रमाणीकरण गराइसकेका विवरणहरु स्वतः भरिएर आउनेछन् ।

-यति गरिसकेपछि आफ्नो मोबाइलबाट आफ्नो पासपोर्ट आकारको तस्वीर खिच्नुहोस् । तपाईंको मोबाइलमा यस अघि नै तपाईंको पासपोर्ट आकारको फोटो छ भने त्यसलाई पनि प्रयोग गर्न सक्नुहुन्छ ।

-अब व्यक्तिगत विवरणको सुरुमा रहेको तस्वीरको संकेतमा थिचेर मोबाइलमा रहेको आफ्नो पासपोर्ट आकारको फोटो अपलोड गर्नुहोस् ।

-फाराममा छुटेका सबै विवरण थप्नुहोस् र गलत विवरण सच्याउनुहोस् । यति गरेपछि तपाईँको निवेदन तयार हुन्छ । अब अन्तिममा दायाँतर्फ रहेको बुझाउनुहोस् लेखिएको स्थानमा दबाउनुहोस् ।

यति गर्दा तपाईंको प्यान दर्ता प्रक्रिया पुरा हुन्छ र एपमै आफ्नो प्यान कार्ड पाउन सक्नुहुन्छ ।

TK Viber

प्रकाशित: ६ माघ २०७७, मंगलवार

Loading...