Technology Khabar ५ माघ २०७७, सोमबार
अमेरिकी राष्ट्रपति इलेक्ट जो बाइडेनलाई नयाँ आधिकारीक राष्ट्रपतिको ट्विटर एकाउन्ट दिइएको छ । तर उनलाई शून्य फलोअर्सबाट ट्विटर एकाउन्ट सुचारु गर्न बाध्य पारिएको छ।
बाइडेनका अभियन्ताहरु यस कदमबाट निराश भएका छन् । यसअघिसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले राष्ट्रपति बाराक ओबामाको ट्विटर एकाउन्ट प्रयोग गरेका थिए ।
हाल बाइडेनको नयाँ ट्विटर एकाउन्टको नाम, ‘प्रेसइलेक्टबिडेन’ (@PresElectBiden) छ । बाइडेनले सन् २०२१ जनवरी २० मा अमेरिकाको राष्ट्रपतिको सपथ खानेछन् । र उक्त ट्विटर एकाउन्टलाई आधिकारिक रुपमा ‘पोटस’ (@POTUS) प्रेसिडेन्ट अफ द यूनाइटेड स्टेट्स’ मा परिवर्तन गरिनेछ ।
बाइडेनले जनवरी १५ तारिखदेखि शून्य फलोअर्सबाट ट्विटर एकाउन्ट सुरु गरेका थिए र हाल बाइडेनको सो ट्विटर एकाउन्टमा ९ लाखभन्दा धेरैले फलो गरिसकेका छन् ।
अर्को तर्फ बाइडेनको व्यक्तिगत ट्विटर एकाउन्टमा दुई करोड ४० लाखभन्दा धेरै फलोअर्स छन् ।
बाइडेनका सहयोगी टिमले आगामी फस्ट लेडी जिल बाइडेनको नाममा ‘एफलोटसबाइडेन’ र उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान डग एमहोफको नाममा ‘सेकेन्डजेन्टलमेन’ नाममा नयाँ ट्विटर एकाउन्ट पनि खोलिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक करोड ३० लाख फलोअर्स भएको पोटस एकाउन्ट पाएका थिए । ट्रम्पले पूर्व राष्ट्रपति बाराक ओबामाको एकाउन्टबाट उक्त फलोअर्स पाएका थिए । तर योपटक भने त्यस्तो हुनेछैन ।
यस विषयमा बाइडेनको टिमलाई एक महिना अघि जानकारी दिइएको थियो ।
आधिकारिक ट्विटर प्रयोग गर्ने ओबामा पहिलो अमेरिकी राष्ट्रपति हुन् । पोटस एकाउन्ट उनको सन् २०१५ को कार्यकालमा स्थापना गरिएको थियो । बीबीसीबाट
प्रकाशित: ५ माघ २०७७, सोमबार