आर्टिफिसियल इन्टेलिजेन्समा आधारित स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु

Technology Khabar ५ माघ २०७७, सोमबार

आर्टिफिसियल इन्टेलिजेन्समा आधारित स्वचालित बत्ती जडानका लागि अध्ययन सुरु
Classic Tech

काठमाडौँ उपत्यकामा कृत्रिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स)मा आधारित स्वचालित विद्युतीय बत्ती जडान गर्न अध्ययन प्रक्रिया अगाडि बढाइएको छ ।

नयाँ प्रणालीको बत्तीले सडकमा सवारी साधन नभएको अवस्थामा पनि निर्धारण गरिएको समयानुसार नै साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ ।

सडकमा सवारी साधनको चाप हेरेर मेसिनले स्वतः साङ्केतिक चिह्न र बत्ती परिवर्तन गर्ने छ ।

सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकामा ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ ट्राफिक लाइट जडान गर्ने उद्देश्यले अध्ययन र डिजाइन गर्न सडक विभागले परामर्शदाता नियुक्त प्रक्रिया अगाडि बढाइसकेको छ ।

नेपालमा पहिलो पटक ट्राफिक व्यवस्थापन गर्न यो प्रणाली जडान गर्न लागिएको हो।

विभागका सवारी तथा ट्राफिक व्यवस्थापन शाखाका प्रमुख कृष्णनाथ ओझाले काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाई सुरक्षित, व्यवस्थित र सहज बनाउन ‘इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम’ जडान गर्न आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।

उनले सो अध्ययन र डिजाइन गर्न परामर्शदाता कम्पनी छनोट गर्न बोलपत्र आह्वान गरिएकोमा आशय पत्र पेस गरेका कम्पनीको अहिले मूल्याङ्कन कार्य सम्पन्न भई सङ्क्षिप्त सूची तयार भइरहेको जानकारी दिए।

सुरुमा चक्रपथभित्र यो ट्राफिक लाइट सिस्टम जडान गरिने बताउँदै शाखा प्रमुख ओझाले भने, “तीन चरणमा यो आयोजना सम्पन्न गरिनेछ । पहिलो चरणमा ४४ ठाउँमा जडान भई सञ्चालनमा आइसकेपछि दोस्रो चरणमा २९ ठाउँमा र तेस्रो चरणमा ७० ठाउँमा यो प्रणाली जडान गरिनेछ । ”

चालू आर्थिक वर्षमा यस आयोजनाका लागि डेढ करोड रुपियाँ विनियोजन गरिएको छ । यो प्रणालीमा कुनै पनि स्थानमा त्यहाँको सवारी चापका आधारमा स्वचालित रूपमा बत्तीको व्यवस्थापन हुने शाखा प्रमुख ओझाले बताए।

उनले भने, “अहिले ट्राफिक बत्ती भएको ठाउँमा त्यसको समय मानिसले नै निर्धारण गर्नुपर्छ । ” आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: ५ माघ २०७७, सोमबार

Loading...