Technology Khabar २ माघ २०७७, शुक्रबार
सबै सरकारी सेवा एउटै मोबाइल एपबाट उपलब्ध हुने भएको छ । एकिकृत सरकारी सेवाका लागि सरकारले ‘नागरिक एप’ सार्वजनिक गरेको छ।
सरकारी सेवा अनलाईन नहुँदा राजश्व तिर्नसँधै झन्झटिलो हुने गरेको छ। अबदेखि एउटै एपबाट राजश्व तिर्नदेखि हेलो सरकारमा गुनासो गर्न सकिन्छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत सो एप सार्वजनिक गरेका हुन् ।
मन्त्री गुरुङ्गले सबै सरकारी सेवालाई एउटै एपमार्फत उपलब्ध गराउने उदेश्यले यो एप तयार गरिएको बताए । यो एपमा प्यान नम्बर लिनेदेखि आफूले बुझाएको करको विवरण समेत हेर्न सकिने छ ।
पत्रकार सम्मेलनमा भिडियो सन्देश मार्फत नागरिक एपमार्फत सेवा लिन प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली नागरिकलाई आग्रह गरे ।
गृह मन्त्रालयमा रहेको दुई करोड १५ लाख नागरिकताको विवरण र निर्वाचन आयोगको सर्भरमा रहेको एक करोड ५५ लाख नागरिकको औंठा छाप र फोटोसहितको जानकारीमार्फत नागरिकको डिजिटल परिचय बनाइएको सो एपबारे जानकारी दिन तयार पारिएको भिडियोमा उल्लेख छ ।
यससँगै एपले सरकारी सेवा लिन नागरिकले नागरिकता, राहदानी, कम्पनी दर्ता, शैक्षिक प्रमाणपत्र जस्ता विवरण बुझाउनुपर्ने लगायतका झन्झट अन्त्य गरिदिनेछ । एपमार्फत नागरिकता नम्बर राखेकै भरमा स्थायी लेखा नम्बर प्राप्त गर्न सकिने भएको छ।
यसका साथै हाल एपमार्फत आफ्नो शैक्षिक विवरण, नागरिकता, राहदानी, मतदाता परिचयपत्र लगायतको सेवा लिन सक्नुहुनेछ । भने, नागरिक लगानी कोष, सञ्चय कोष, सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमको जनकारी समेत लिन सकिने छ ।
स्थानीय सरकारले प्रदान गर्ने ६४ मध्ये ४० भन्दा बढी सेवा यो एपमै उपलब्ध हुने उल्लेख गरिएको छ । यो एप प्रयोग गर्न आफ्नो नाममा रहेको मोबाइल नम्बरबाट भने आवश्यक पर्ने बताईएको छ।
मन्त्री गुरुङले सबैले यो एप प्रयोग गरेर यसको बारेमा सुझाब र प्रतिकृया दिनका लागि समेत अनुरोध गरे ।
करिब ३ वर्षपछि सरकारको नीति तथा कार्यक्रममा परेको नागरिक एपको सुरुवात भएको छ ।
‘यसलाई अझै व्यवस्थित गर्नुपर्ने छ । प्रयोगको तयारी गर्नुपर्ने छ र आमनागरिकको सुविधाको लागि अझै प्रभावकारी बनाउँदै लैजानुपर्नेछ,’ गुरुङले भने ।
प्रकाशित: २ माघ २०७७, शुक्रबार