Technology Khabar २ माघ २०७७, शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्नो कार्यकालको अन्तिम दिन चीनको ठूलो स्मार्टफोन ब्राण्ड शाओमीसहित अन्य चिनियाँ कम्पनीहरुलाई कालोसूचीमा राखेका छन् ।
ट्रम्पले साओमी समेत गरी कूल ९ वटा चिनियाँ कम्पनीलाई उनले ब्ल्याक लिस्टमा राखेका हुन् ।
यी कम्पनीहरुमाथि चिनियाँ सरकार र सेनासँग साँठगाँठ गरेको आरोप लगाइएको छ । यसअघि पनि अमेरिकी सरकारले चीनका विभिन्न टेक्नोलोजी कम्पनीहरुलाई प्रतिबन्ध लगाईसकेको छ ।
ट्रम्प प्रशासनले शाओमीलाई कम्युनिस्ट चिनियाँ मिलिटरी कम्पनी भएको दाबी गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको द भर्जको रिपोर्टमा छ । शाओमी विश्वको तेस्रो ठूलो स्मार्टफोन मेकर कम्पनी हो ।
अमेरिकी रक्षा विभागले पिपुल्स रिपब्लिक अफ चाइना मिलिट्री सिभिल फ्युजन डेभलपमेन्ट स्ट्राटेजीलाई प्रमुखताका साथ जोड दिएको छ ।
शाओमीसँगै प्रतिबन्धमा परेका कम्पनीहरुमा आगामी नोभेम्बर ११ देखि लगानी रोक्नुपर्नेछ ।
ब्ल्याक लिस्टमा परेका कम्पनीमा धेरैजसो एभिसन, एरोस्पेस, रशायन, दूरसञ्चार, निर्माण आदि क्षेत्रसँग सम्बन्धित छन् । ट्रम्प प्रशासनको तर्फबाट कालो सूचीमा राखिएका कम्पनीले अमेरिकामा लगानी गर्न पाउने छैनन् ।
यस बाहेक प्रतिबन्धमा पर्ने अर्को कम्पनी चिनियाँ सरकारको लगानी रहेको विमान निर्माता कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइना लिमिटेड हो ।
तर शाओमीलगायतका अहिलेका कम्पनीहरुले भने अमेरिकी उपकरण र प्रविधिको प्रयोग गर्न सक्नेछन् । किनकी यी कम्पनीहरु यसअघिको प्रतिबन्धित सूचीमा परे जस्तो छैनन् । तर यसमा लगानीलाई खतराजनक हुने भनिएको छ।
ट्रम्प प्रशासनले ह्वावे र जेडटीईलगायतका अन्य चिनियाँ कम्पनीमाथि यस अघि नै प्रतिबन्ध लागिसकेको छ। जसले कुनैपनि अमेरिकी सेवा र उपकरणहरु प्रयोग गर्न सक्नेछैनन्।
अमेरिकाको कालो सूचीमा परेसँगै हङकङमा सूचीकृत शाओमीको शेयर मूल्य शुक्रबार १०.६ प्रतिशतले घटेको छ ।
प्रकाशित: २ माघ २०७७, शुक्रबार