नेपाल बंगलादेश बैंकको नक्कली फेसबुक पेज बनाएर फिसिङ गरिँदै, १० हजार रोजगारी दिने दाबी

Technology Khabar १ माघ २०७७, बिहीबार

नेपाल बंगलादेश बैंकको नक्कली फेसबुक पेज बनाएर फिसिङ गरिँदै, १० हजार रोजगारी दिने दाबी
Classic Tech
Nepal Telecom

नेपाल बंगलादेश बैंकको नाममा नक्कली फेसबुक पेज बनाएर १० हजार रोजगरी दिने भन्दै फिसिङ सुरु गरिएको छ।

नेपाल बंगलादेश बैंकको लोगो र नाम प्रयोग गरी नेपालीहरुलाई लक्षित गरेर ‘बैंक र नेपाल र बंगलादेश’ नाममा फेसबुक पेज खोलिएको छ । आमनेपाली फेसबुक प्रयोगकर्ता माझ पुर्याउन सो नक्कली पेजलाई स्पोन्सर पनि गरिएको छ।

उक्त पेजमा भनिएको छ,‘बैंक अफ नेपाल बंगलादेशले नेपालका हाम्रा सबै शाखाहरुमा १० हजार कामदारहरुको आवश्यकता घोषणा गर्छ। अब कामका लागि आवेदन दिनुहोस् । यदि तिमी इच्छुक छौ भने । यदि तपाइँ काम चाहानुहुन्छ भने । लिंकमा क्लिक गर्नुहोस् र लिंक मार्फत दर्ता गर्नुहोस् ।’

उक्त लिंकमा क्लिक गर्दा फेसबुक एकाउन्टको भेरिफिकेसन माग गर्दछ । porsna.ir पोर्सनडट आईआर वेबसाइट खुल्छ। जून पेज उर्दु भाषामा रहेको छ र यो इरानबाट स‌ंचालित रहेको देखिन्छ । यो जागीरमा फर्म भर्नका लागि तपाईँको फेसबुकको लगइन माग्छ।

उक्त विज्ञापनमा भनिएको छ, ‘तपाईंले एकचोटि मात्र दर्ता गर्नुपर्नेछ । यदि तपाईंले पहिले दर्ता गर्नुभयो भने, फेरि दर्ता नगर्नुहोस् । साइटले दर्ता गर्न अधिक समय लिन सक्दछ । फेरि प्रयास नगर्नुहोस् ।’

‘यदि तपाईंको प्रमुख यी व्यवसायहरू भन्दा फरक छ, रजिष्टर गर्नुहोस् र हामी तपाईंलाई सम्पर्क गर्नेछौं ।’ बैंकको नक्कली फेसबुक पेजले भनेको छ ।

सो फिशिङ्ग विज्ञापनमा बैंकमा काम नै नहुने र प्रयोगमा नै नआउने पदहरुको लागि भन्दै आवेदन फर्म भर्न भनिएको छ।  त्यस्ता आवेदन भर्न भनिएको पदहरु रसायन र भूवैज्ञानिक, खाता कर्मचारी, निर्माण र यातायात मजदूर, विपणन प्रतिनिधि र प्राविधिक, शिल्पकार, सुरक्षा गार्ड र वितरक र अम्मार जेनिटरियल र प्रथम र दोस्रो कक्षा ड्राइभरहरू र स्याहारकर्ताहरू र कुकहरू र बुफे वर्कर जस्ता पदहरु राखिएको छ।

नक्कली पेजमा १८ बर्ष भन्दा माथिका विद्यार्थीहरूको लागि पनि रोजगारीहरू छन् । (तपाइँ तपाइँको मेजर सूट रोजगारमा लागू गर्न सक्नुहुन्छ) ।

उक्त पेज मार्फत आह्वान गरिएको धेरै रोजगारी बैंकसँग सम्बन्धित नै छैनन् ।

नेपाल बंगलादेश बैंकका प्रमुख सूचना अधिकारी तथा प्रवक्ता सुरेश देवकोटाले भने त्यस्तो कुनै विज्ञापन नै नगरिएको जानकारी दिए । उनले त्यस्तो फेसबुक पेजको बारेमा आफूलाई कुनै जानकारी नरहेको र नक्कली हुनसक्ने बताए।

‘हामीले कुनै त्यस्तो विज्ञापन गरेका छैनौं। तपाईँले भनेपछि मात्र मैले थाहा पाएँ । सायद त्यो फिशिंग हुन सक्दछ । जसले प्रयोगकर्ताहरुको डाटा चोर्न सक्दछ। हाम्रो डिजिटल टिमलाई समेत सो बारेमा बुझ्न भन्नेछु,’ उनले टेक्नोलोजीखबरसँग भने ।

पछिल्लो समय विभिन्न नाम चलेका कम्पनी तथा संस्थाको लोगो प्रयोगगरी फिसिङ गरिने क्रममा नेपालमा बढ्दो छ । रोजगारी तथा आकर्षक उपहारको प्रलोभन देखाएर यस्ता फिसिङ हुने गरेका छन् ।

ती अफरमा लालाइत भएर धेरै प्रयोगकर्ताहरु यस्ता फिसिङमा फस्ने गरेका छन् । फिसिङ गर्नेहरुले प्रयोगकर्ताको डाटा र गोप्य जानकारी लिई ब्ल्याकमेलिङ पनि गर्ने खतरा हुन्छ।

TK Viber

प्रकाशित: १ माघ २०७७, बिहीबार

Loading...