Technology Khabar २९ पुष २०७७, बुधबार
वर्तमान समयमा स्मार्टफोनलाई कुराकानी गर्ने अलावा धेरै काममा प्रयोग गर्न सकिन्छ । तरपनि फोनको मूख्य काम भनेकै कलिङ हो । कलिङको क्रममा प्रष्टसँग आवाज नबुझिने समस्या हामीमध्ये धेरैले भोग्दै आएका छौं । हामीले केहि कुरामा ध्यान दिने हो भने कलिङलाई गुणस्तरीय बनाउन सकिन्छ ।
माइक्रोफोन तथा स्पिकर जाँच गर्ने
फोनको आवाज राम्रो बनाउन सबैभन्दा पहिला आफ्नो माइक्रोफोन, एयरफोन र स्पिकरको जाँच गर्नुपर्ने हुन्छ । यी उपकरणमा समस्या आउँदा पनि आवाजको गुणस्तर कम हुन्छ । यसका लागि स्पिकर, माइक्रोफोन र एयरफोन समय समयमा सफा गर्नुपर्छ । स्पिकर, माइक्रोफोन र एयरफोनमा धुलो अड्किदा पनि आवाजमा समस्या आउँछ । टुथब्रशको प्रयोग गरेर स्पिकर, माइक्रोफोन र एयरफोनमा रहेको धुँलो सफा गर्न सकिन्छ ।
हाई क्वालिटी कलिङ अन गर्ने
कलिङलाई गुणस्तरीय बनाउन एचडी भ्वाइस वा भोल्टे फिचर अन गर्न सकिन्छ । धेरै एन्ड्रोइड स्मार्टफोनमा सहजै एचडी भ्वाईस फिचर एक्टिभ भए नभएको थाहा पाउन सकिन्छ । कल गर्दा एचडी डायलिङ टप राइट कर्नरमा देख्न सकिन्छ । यसका साथै एडभान्स कलिङमा गएर पनि यो विकल्प अन गर्न सकिन्छ । केहि स्मार्टफोन निर्माताले आफ्नो स्मार्टफोनमा यो फिचर इन बिल्ट नै दिन्छन् ।
वाईफाई कलिङ अन गर्ने
हालका लागि नेपालमा वाईफाई कलिङको सुविधा छैन । नेपालमा भोल्टे प्रविधि परीक्षण हुने क्रममा छ । भोल्टे प्रविधि कार्यान्वयनमा आएसँगै वाईफाई कलिङ गर्न सकिन्छ । कलको दौरान तपार्यको सेल्यूलर सिग्नल कमजोर भएमा फोनमा वाईफाई कलिङको विकल्प प्रयोग गर्न सकिन्छ ।
प्रकाशित: २९ पुष २०७७, बुधबार