Technology Khabar २७ पुष २०७७, सोमबार
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाईन आवेदन ‘अनलिमिटेड’ बनाईने छ । यहि बिहीबारदेखि लाइसेन्सको अनलाइन आवेदन अनलिमिटेड बनाउने तयारी गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
अहिले अनलाईन लाइसेन्स प्रणालीमा कोटा सिस्टम लागू हुँदा एक दिनमा निश्चित संख्यामा मात्र आवदेन दिन सकिन्छ । सिमित कोटा फुल हुँदा सिस्टम इररले भर्न नपाएको गुनासो बढेपछि विभागले अनलिमिटेड बनाउन लागेको जनाएको हो ।
‘हामी सिस्टमलाई परिस्कृत गर्दैछौं । सम्भवत बिहीबारसम्ममा अनलाईनमा अनलिमिटेड आवेदन लिन सुरु हुन्छ । अब अनलाईन आवेदनका लागि दैनिक कोटा हुँदैन । योग्यता पुगेका सबैले अनलाईन आवेदन दिन सक्छन् । सिस्टमले सबैको आवेदन लिन्छ,’ हमालले टेक्नोलोजीखबरसँग भने ।
तर लिखित परीक्षा र ट्रायल कार्यालयहरुले क्षमता अनुसार बिस्तारै लिँदै जानेछन् । अनलाईन आवेदन फारम भरेपछि सिस्टमले नै राजश्व तिर्नका लागि कार्यालय जाने मिती उपलब्ध गराउनेछ।
अहिले विद्यमान सिस्टमले कोटा अनुसार मात्रै आवेदन लिन्छ । यो सिस्टमका कारण धेरै जना अनलाईन आवेदन दिनबाट बञ्चित भइरहेका छन् । बिहीबारदेखि विभागको अनलाईन सिस्टममा फारम भर्ने वित्तिकै आवेदन स्विकार गर्नेछ । अनलाईन सिस्टमले आवेदनकर्तालाई राजश्व तिर्ने मिती तय गरिदिन्छ । तोकिएको दिनमा अनलाईन आवेदन दिएको कार्यालयमा गएर राजश्व तिर्नुपर्ने हुन्छ ।
राजश्व तिरेपछि यातायात कार्यालयले लिखित परीक्षाको मिति तोकिदिन्छ । लिखित परीक्षा दिएपछि आवेदकले ट्रायलका लागि समय पाउँछन् । अब भने अनलाइन आवेदन दिएका सुरुका आवेदकबाट कार्यालयको क्षमता अनुसार लिखित र ट्रायल परिक्षा संचालन गर्दै जाने योजना रहेको छ ।
‘लाइसेन्सका लागि दैनिक हजारौं जनाले विभागको वेबसाइट खोल्ने गरेका छन् । कार्यालयको क्षमता सिमित छ । धेरैले फारम भर्न नै नपाएको गुनासो गरे,’ हमालले भने, ’अब सबै आवेदन लिने हो । तर क्षमता तथा कोटा अनुसार मिति तोकिन्छ ।’
गत चैत ११ बाट सरकारले लकडाउन जारी गरेदेखि लाइसेन्सको ट्रायल पनि रोकिएको थियो । बीचमा कर, नवीकरण र नामसारी लगायतको सेवा खुले पनि नयाँ लाइसेन्स लिन चाहनेका लागि सेवा बन्द थियो । सबै क्षेत्र खुलको भन्दै चौतर्फी रूपमा खोल्न दबाब आएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको मापदण्ड पूरा गरेर पुस १४ गतेदेखि खुलाउने निर्णय भयो ।
उपत्यकामा भक्तपुरको जगाती, काठमाडौंको ठूलो भर्याङ, सुकेधारा, ललितपुरको एकान्तकुना गरि चारवटा कार्यालयबाट लाइसेन्सको परीक्षा सञ्चालन हुन्छ । ती कार्यालयहरुमा मोटरसाकल र स्कुटरका लागि तीन सय तथा कार र जीपका लागि दुई सय जनाको कोटा छुट्याइएको थियो । सोही कारण धेरैले आवेदन दिन नपाएका हुन् ।
प्रकाशित: २७ पुष २०७७, सोमबार