Technology Khabar २६ पुष २०७७, आईतवार
टेक्नोलोजी कम्पनी इन्टेलले टीएसएमसीबाट उत्पादित चिप आउटसोर्सिङ गर्ने भएको छ । अमेरिकी कम्पनी इन्टेलले आफ्नो उत्पादन क्षमतालाई सुधार गर्ने योजनामा छ ।
इन्टेलको चिप निर्माण प्रक्रियामा क्रमिक रुपमा ढिलाई भइरहेको छ । यसले पनि इन्टेल आउटसोर्सिङमा विचार गरिरहेको संकेत पाउन सकिन्छ ।
इन्टेलका सीईओ बब स्वानले लगानीकर्तालाई सम्बोधन गर्दै जनवरी २१ मा हुने चिप निर्माता सम्मेलनमा कम्पनीको आउटसोर्सिङ योजनाको घोषणा गरिने जानकारी दिएका थिए ।
रिर्पोटका अनुसार हालसम्म आउटसोर्सिङका लागि इन्टेल अन्तिम निर्णयमा पुगिसकेको छैन । घोषणा गर्नु करिब दुई हप्ता अघि यस विषयको निर्क्यौलमा पुग्ने अनुमान छ ।
टीएसएमसीबाट खरिद गरिएको चिपसेट तथा विद्युतीय सामाग्री सन् २०२३ अघि बजारमा उपलब्ध हुनेछैन । इन्टेलका लागि भनेर टीएसएमसीले आफ्नो उत्पादन प्रक्रियामा फेरबदल गर्नेछैन ।
ब्लूमबर्गका अनुसार टीएसएमसीले इन्टेललाई ४ नानोमिटर आधारित चिप उपलब्ध गराउने तयारी गरेको छ ।
प्रकाशित: २६ पुष २०७७, आईतवार