Technology Khabar २६ पुष २०७७, आईतवार
१० करोडभन्दा बढी निक्षेप वा पुँजी भएका बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाले एन्टी मनी लाउन्ड्र सिस्टम (गोएमएल) सफ्टवेयरमार्फत राष्ट्र बैङ्कलाई प्रतिवेदन गर्नुपर्ने भएको छ ।
२०७८ साउनदेखि सो सफ्टवयेरमार्फत कारोबार गर्न गराउन सहकारी विभागले संस्थालाई निर्देशन गरेको छ । एक लाख रुपियाँभन्दा बढीको कारोबार सो सफ्टवेयरमार्फत राष्ट्र बैङ्कमा देखिने भएकाले सहकारी संस्थाको कारोबार थप पारदर्शी र व्यवस्थित हुने विभागले जनाएको छ ।
२०७८ साउनदेखि १० करोडभन्दा बढी बचत परिचालन गर्ने, बचत तथा ऋणको कार्य गर्ने सहकारी संस्थाले संस्थको नाम, ठेगाना, दर्ता नम्बर र कारोबार रकमको विवरणसहितको सूची सहकारी विभाग र राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइमा पठाउनुपर्नेछ ।
सबै सहकारी संस्थामा रहेका एएमएल–जीएफटी कार्यान्वयन अधिकारीको नाम, इमेल र मोबाइल नम्बर सहकारी विभाग र वित्तीय जानकारी एकाइमा पठाउन विभागले निर्देशन गरेको छ ।
विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेले भने, “गोएएमएल सफ्टवेयरमा काम गरेपछि सहकारी संस्थाको आर्थिक अवस्थामा सुधार हुन्छ । सहकारीको प्रशासन मात्र होइन, आर्थिक प्रणालीमा सकारात्मक प्रभाव पार्छ, सहकारितालाई मजबुत बनाउनेछ ।”
विभागका अनुसार पछिल्लो समय सहकारीको कारोबार बढेको छ । १० करोड रुपियाँभन्दा बढी निक्षेप वा पुँजी भएका सहकारीको सङ्ख्या पाँच हजारभन्दा बढी नै छ ।
नेपालमा २९ हजार ८८६ वटा सहकारी संस्था क्रियाशील छन् । आजको गोरखापत्रबाट
प्रकाशित: २६ पुष २०७७, आईतवार