Technology Khabar २२ पुष २०७७, बुधबार
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलाएपछि अनलाइनमार्फत विश्वविद्यालयका बारेमा जानकारी दिन सुरु गरेको छ ।
विश्वविद्यालयले मङ्सिर २४ गतेदेखि यही पुस अन्तिमसम्म नयाँ शैक्षिक सत्रका लागि भर्ना खुलाएको छ । भर्ना अवधिभरसम्म विश्वविद्यालयले विश्वविद्यालयको वर्तमान अवस्था, कुन–कुन विषय पढाइ हुन्छ भनेर अनलाइनमार्फत जानकारी दिने उद्देश्यले मङ्गलबारदेखि दैनिक डेढ घण्टा जानकारी दिनेछ ।
मङ्गलबार आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले अब प्रत्येक दिन एक/डेढ घण्टा अनलाइनबाट विश्वविद्यालयको वर्तमान अवस्था, कुुन क्याम्पसमा के–के विषय पढाइ हुुन्छ भनेर तीनवटा कार्यक्रम हुने जानकारी दिए ।
अनलाइन अन्तरक्रियामा सम्बन्धित विषयका विषयगत विज्ञसहित क्याम्पस प्रमुखलाई समेत सहभागी हुन जानकारी गराउने र अभिभावक, विद्यार्थी, तथा सरोकारवाला सबैसँग अन्तरक्रिया गरिने उनले उल्लेख गरे । उनले अहिले कोभिडको महामारीबीचमै पनि विश्वविद्यालको शैक्षिक गतिविधि स्वास्थ्य सुरक्षा अपनाएर गरिएको बताए ।
पहिलो चरणमा कोभिडले रोकिएका परीक्षा सञ्चालन गरिएको र अब दोस्रो चरणमा नयाँ भर्नासहित कार्यक्रम सञ्चालन गर्न थालिएको समेत जानकारी दिए । यहाँ हाल भौतिक रूपमै उपस्थित भएर पढाउन थालिएको भन्दै उनले विश्वविद्यालयले आवश्यकताअनुुसार कोर्ष बनाएर जनताको चाहनाअनुुसार यहाँको रोग, भोक र अशिक्षाविरुद्ध लड्ने जनशक्ति उत्पादन गर्ने तयारी गरिरहेको खुलासा गरे । अबको दुई वर्षभित्रमा मेडिकल साइन्स पढाउने लक्ष्य राखेको जानकारी उपकुलपति प्रा.डा. सिंहले दिए ।
उनले मेडिकल साइन्सतर्फ चार वर्षे ब्याचलर इन पब्लिक हेल्थ, बीपीएच, बीएस्सी नर्सिङ, बीएनको पाठ्यक्रम बनाउन लागिएको जानकारी दिए ।
विश्वविद्यालयले यस वर्षदेखि कृषि र वन विज्ञान विषयसमेत पढाउन सुरु गरेको छ । विश्वविद्याललाई प्राकृतिक र सामाजिक विज्ञानको थलोको रूपमा विकास गरिने उपकुलपति सिंहले बताए । आजको गोरखापत्रबाट
प्रकाशित: २२ पुष २०७७, बुधबार