सरकारले अनुमति र स्पेक्ट्रम दिए नेपाल टेलिकम फाइभजी परीक्षण गर्न तयार

Technology Khabar २२ पुष २०७७, बुधबार

सरकारले अनुमति र स्पेक्ट्रम दिए नेपाल टेलिकम फाइभजी परीक्षण गर्न तयार
Classic Tech
Nepal Telecom

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कम्पनी अहिलेको अवस्थामा नै फाइभजी परीक्षणको लागि तयार रहेको बताएका छन् ।

टेलिकमको नेतृत्व सम्हालेको २ वर्ष पुरा गरेको अवसरमा टेक्नोलोजीखबरसँग कुराकानी गर्दै सरकारले स्पेक्ट्रम र परीक्षण गर्न अनुमति दिएको खण्डमा फाइभजी सेवा परीक्षण गर्न तयार रहेको बताएका हुन्।

प्रबन्ध निर्देशक अधिकारीले हालको फोरजी सेवाको बिस्तारपछि चार प्रमुख शहरहरुमा फाइभजी सेवा परीक्षण गर्न सकिने सम्झौतामा नै रहेको र अहिलेको अवस्थामा ५जीको लागि आवश्यक आधारभूत र पूर्वाधार कम्पनीसँग रहेको बताए ।

‘अहिले विश्वभर निश्चित क्षेत्रको कनेक्टिभिटीलाई आधार मानेर फाइजी सेवा चलिरहेका छन्, नेपालमा पनि अहिलेको शुरुवाती अवस्थामा शिक्षा, स्वास्थ्य लगायतका निश्चित क्षेत्रलाई ५जीमा जोड्नेगरि काम गर्न सकिन्छ,’ उनले भने ।

तर त्यसको लागि कुन स्पेक्ट्रममा सेवा संचालन गर्ने हो त्यहिअनुसार मात्र उपकरण ल्याउनुपर्ने र त्यसको लागि सरकारले निश्चित स्पेक्ट्रम तोकिदिनुपर्ने बताए ।

त्यसको लागि आवश्यक पर्ने प्राविधिक विषयहरु तयार अवस्थामा रहेको र रेडियो एक्सेस यूनिटहरु (आरआरयू)को लागि भने स्पेक्ट्रम तोकेपछि खरिद गरेर ल्याउन सकिने गरि प्रविधिगतरुपमा काम गर्न सकिने बताए ।

उनकाअनुसार आगामी दिनमा ५ जीको पूर्ण उपयोग गर्दा भने त्यसको लागत र आम्दानीको अवस्था, स्पेक्ट्रमको मूल्य लगायतका विषयहरुलाई ध्यान दिएर मात्र अगाडि बढ्नुपर्ने बताए ।

‘फाइभजी परीक्षण गर्न सकिन्छ तर त्यसको व्यवसायीकरण गर्न र दिर्घकालिन उपयोगको लागि भने प्रयोगकर्ताहरुको संख्या, एप्लिकेसन, कन्टेन्ट, लागत लगायत हेर्नुपर्ने हुन्छ र व्यवसायको सफलताको केसको लागि अझै समय लाग्नसक्छ,’ उनले टेक्नोलोजीखबरसँग भने ।

अधिकारीले २०७५ साल पुस २२ गते टेलिकमको नेतृत्व लिएका थिए । नेतृत्व तहमा उनको २ वर्षे अनुभव र टेलिकमको हालको अवस्थाको बारेमा टेक्नोलोजीखबरले गरेको बिस्तृत कुराकानी पछि प्रकाशित गर्नेछौं ।

TK Viber

प्रकाशित: २२ पुष २०७७, बुधबार

Loading...