Technology Khabar २१ पुष २०७७, मंगलवार
स्मार्ट फोन होस् या कम्प्युटर, हामीमध्ये धेरै इन्टरनेटको प्रयोग गर्न गुगल क्रोम ब्राउजरको प्रयोग गछौं । क्रोम ब्राउजरमा केही यस्ता फिचरहरु छन्, जसको सही प्रयोग गरिएमा छिटो र सुरक्षित तबरले इन्टरनेट चलाउन सकिन्छ ।
इन्टरनेट प्रयोगकर्ता माझ गूगल क्रोम ब्राउजर एकदमै लोकप्रिय छ । गूगल ब्राउजर तीब्र र सहज हुने भएकाले प्रयोगकर्ताको प्राथमिकतामा परेको हो । ब्राउजरमा यस्तो फिचर पनि छ, जसलाई अलिक गोप्य रुपमा प्रस्तुत गरेको हुन्छ । ती फिचरहरु के हुन् र कसरी प्रयोग गर्ने सम्बन्धमा यहाँ जानकारी दिन खोजिएकोे छ ।
न्यू इन्कोग्निटो विन्डो
न्यू इन्कोग्निटो विन्डो गुगल क्रोमको उपयोगी फिचर हो । इन्टरनेट प्रयोगकर्ता सकेसम्म आफ्नो सर्च हिस्ट्रीको बारेमा अन्य ब्यक्तिलाई जानकारी दिन चाहँदैनन् । त्यसका लागि न्यू इन्कोग्निटो विन्डोको मद्दत लिन सकिन्छ । यो फिचर ब्राउजरको मेन्युमा उपलब्ध छ । सर्टकट किका लागि गुगल क्रोम खोलेर कन्ट्रोल सिफ्ट एन प्रेस गर्दा पनि हुन्छ । यसलाई प्राइभेट ब्राउजिङ्गको नाममा पनि बुझ्न सकिन्छ ।
डु नट ट्रयाक
इन्टनेटरमा कुनै सामाग्री सर्च गर्दा गुगलले त्यसलाई ट्रयाक गर्छ । त्यही ट्रयाकको आधारमा गुगलले हामीले बारम्बार खोजी गर्ने सामाग्रीहरु क्रोममा उपलब्ध गराउँछ । तर, यदि तपाईले इन्टरनेटमा गरेको गतिविधि गुगलले पनि ट्रयाक गर्न नसकोस् भन्ने लाग्छ भने त्यसको पनि उपाय छ । त्यसका लागि डु नट ट्रयाकको प्रयोग गर्नुपर्ने हुन्छ । डु नट् ट्रयाकको प्रयोगका लागि क्रोमको मेनुमा रहेको सेटिङमा गएर ‘सो एड्भान्स सेटिङ’मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि प्राइवेसी सेटिङ खुल्छ । त्यो खुलिसकेपछि तपाइलाई डु नट ट्रयाक अप्सनमा क्लिक गर्नु भयो भने गुगलले इन्टरनेटमा गरिएको गतिविधि ट्रयाक गर्दैन ।
इन्टरनेटको प्रयोग बिना अफलाइन सेभ पेज पढ्न सकिन्छ । यो सेवा अफलाइन नाममा छैन । तर, यसका लागि अलिकति दिमाग खियाउनु पर्ने हुन्छ । यो सेवा प्रयोग गर्नका लागि अनलाइन भएको समयमा पेज खोलेर छोड्नु पर्छ । यसरी खोलिएको पेज अफलाइन भएको बेलामा पनि पढ्न सकिन्छ ।
डाउनलोड
क्रोममा उपलब्ध सेवा मध्येमा यो विशेष सेवा हो । क्रोमको मेन्यू क्लिक गर्दा त्यहाँ डाउनलोड भन्ने विकल्प देख्न सकिन्छ । आफूले पढ्न र हेर्न चाहेको सामाग्रीलाई इन्टरनेट उपलब्ध भएको समयमा डाउनलोड गरेर अफलाईनको समयमा हेर्न र पढ्न सकिन्छ ।
अफलाइन गेम
इन्टरनेटमा काम गर्ने मानिसलाई कम्प्युटर वा मोबाइलमा इन्टरनेट नचलेमा समय विताउन सकश हुने गरेको छ । तर चिन्ता गर्नु पर्ने अवस्था छैन । किनकि इन्टरनेट बन्द भएमा पनि गूगल क्रोममा समय विताउनका लागि गेम खेल्न सक्नु हुन्छ । ब्राउजरबाट डायनोसोर गेम खेल्न सकिन्छ । यो अफलाइन गेम हो, जुन इन्टरनेट बन्द भएको अवस्थामा मात्र खेल्न सकिन्छ ।
लोकेसन
इन्टरनेट वा वेबसाइट प्रयोगको समयमा तपाईँको लोकेसन ट्रयाक हुन्छ । हरेक व्यक्तिलाई आफ्नो लोकेसन ट्रयाक नहोस् भन्ने चाहना हुन्छ । त्यसो हो, भने लोकेसन ट्रयाक बन्द गर्नुपर्ने हुन्छ । यसका लागि ब्राउजर मेन्युको सेटिङमा जाने र प्राइवेसीमा त्यो विकल्प उपलब्ध छ ।
डाटा सेभर
डाटा सेभर विशेषगरी मोबाइलमा इन्टरनेट प्रयोग गर्नेका लागि एकदमै महत्वपूर्ण हुन्छ । यो सेवाको माध्यमबाट डाटाको वचत गर्न सकिन्छ । यसका लागि क्रोम सेटिङको तल रहेको डाटा सेभर अन गर्नु पर्ने हुन्छ । यसो गरिएपछि तपाइले खोलेर हेर्न चाहेको भन्दा अन्य वेबसाइट खुलेर डाटा सकिने हुँदैन ।
जूम
मोबाइलमा ट्याप गरेर पिन्च टु जूम गर्न सकिन्छ । तर डेस्कटपमा यो सुविधा उपलब्ध छैन । तर, ब्राउजरमा यसको प्रयोग गर्न सकिन्छ । मेन मेन्युमा गएर जूम अप्सन सेलेक्ट गर्नु पर्ने हुन्छ । यसो गरिएपछि तपाईँले चाहेको साइजमा ब्राउजर प्रयोग गर्न सकिन्छ ।
डाइरेक्ट सर्च
गूगल ब्राउजर आफैमा गूगल हो । यसमा सर्च गर्नका लागि गूगल डटकम खोल्नु पर्दैन । तपाईको कमाण्ड अनुसार गूगल ब्राउजरले आफै सर्च गर्छ । तपाइले जे कुरा खोजी गर्नुपर्ने हो डाइरेक्ट त्यही चिजको नाम लेखेर खोज्न सकिन्छ ।
साथै, गुगल क्रोम हिस्ट्री, प्रिन्ट, न्यू ट्याप, न्यू विन्डो, बुकमार्क लगायतका विशेष सुविधा छन् ।
प्रकाशित: २१ पुष २०७७, मंगलवार