Technology Khabar २० पुष २०७७, सोमबार
नेपाल टेलिकमको फोरजी सेवा र फाइबर टू द होम (एफटीटीएच)मा प्रयोगकर्ताको आकर्षण देखिएको छ । एक महिनाको अवधिमा टेलिकमको फोरजी र एफटीटीएच सेवा प्रयोग गर्ने ग्राहक दोहोरो अंकले बढेका छन् ।
नेपाल टेलिकमले आक्रमक रुपमा सेवा बिस्तार गरेसँगै फोरजी र एफटीटीएचका प्रयोगकर्ता बढेको देखिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनमा टेलिकमको फोरजी र एफटीटीएच प्रयोगकर्ता बढेको देखिएको हो ।
टेलिकमको असोजमा एफटीटीएच प्रयोगकर्ता दुई लाख ९१ हजार ३९९ थिए भने कातिक महिनामा तीन लाख २२ हजार ६०२ पुगेको छ । एक महिनाको अवधिमा टेलिकमको एफटीटीएचको प्रयोगकर्ता ३१ हजार २०३ ले बढेको छ । यो वृद्धि १०.७० प्रतिशत हो ।
टेलिकमको फोरजी प्रयोगकर्ता कार्तिकमा २० लाख ४९ हजार ९१६ पुगेको छ । असोजमा फोरजी प्रयोगकर्ता १८ लाख ४० हजार थिए । एक महिनामै दुई लाख ९ हजार ४५३ जनाले ग्राहक बढेका हुन् । टेलिकमको फोरजी सेवा ११.३८ प्रतिशतले बढेको छ ।
त्यसैगरि कातिकसम्म टेलिकमको थ्रिजी प्रयोगकर्ता ८४ लाख ३२ हजार ६५४ पुगेको छ ।
एनसेलको फोरजी प्रयोगकर्ता ४० लाख ८२ हजार ५१७ र स्मार्टको एक लाख ९९ हजार ७६१ रहेको तथ्यांकमा देखिएकोछ।
प्रकाशित: २० पुष २०७७, सोमबार