फाइबर इन्टरनेटमा नेपाल टेलिकमको ‘फड्को’

Technology Khabar १६ पुष २०७७, बिहीबार

फाइबर इन्टरनेटमा नेपाल टेलिकमको ‘फड्को’

काठमाडौं ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकजस्तै नेपाल टेलिकम पनि फाइबरमार्फत घरघरमा इन्टरनेट पुर्याउने आफ्नो ‘एफटीटीएच’ सेवा विस्तारमा आक्रामक बनेको छ ।

तामाको तार प्रयोग हुने एडीएसएल इन्टरनेट विस्तारै विस्थापनतर्फ लगेको टेलिकमले फाइबर इन्टरनेटमा बढी जोड दिन थालेको हो । जसको नतिजा पछिल्लो समय बढेका एफटीटीएचका ग्राहकले पनि देखाउँछ ।

टेलिकमका अनुसार गत आर्थिक वर्षको ०७६/७७ पहिलो पाँच महिनाको तुलनामा चालू आव ०७७/७८ को सोही अवधिमा एफटीटीएच जडान गर्नेको सङ्ख्या ३११ प्रतिशतले बढेको छ । अर्थात् गतवर्ष साउनदेखि मङ्सिरसम्म ११ हजार ६१० जना एफटीटीएचका नयाँ ग्राहक थपिएकोमा यस वर्ष ४७ हजार ७३९ ओटा नयाँ जडान थपिएका छन् ।

गत मङ्सिरमा मात्रै एफटीटीएचका १७ हजार ३३४ ओटा नयाँ जडान थपिएको टेलिकमको तथ्याङ्क छ । यो सङ्ख्या गतवर्षको पाँच महिनाको तुलनामा पनि बढी हो ।

असोजमा मात्रै टेलिकमले १८ हजार १७४ ओटा नयाँ कनेक्सन थपेको छ जुन टेलिकमको एफटीटीएचको इतिहासमा हालसम्मकै बढी हो ।

पाँच वर्षअघि टेलिकमले सुरु गरेको यो परियोजनाले विगतका वर्षमा भने खासै गति लिन सकेको थिएन तर पछिल्लो समय सम्भव भएका राजधानी बाहिरका जिल्लामा पनि एफटीटीएच विस्तारको कार्यक्रमलाई जोड दिइएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनका अनुसार कम्पनीको यो फाइबर इन्टरनेटको माग अहिले अत्यधिक छ । माग भएका र व्यावसायिक सम्भावना रहेका क्षेत्रमा एफटीटीएच विस्तारलाई प्राथमिकतामा राखेर कम्पनीले लगानी गरिरहेको उनले बताए।

अहिले देशका ३३ ओटा जिल्लाका विभिन्न स्थानमा टेलिकमको एफटीटीएच उपलब्ध छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकको तुलनामा आधारभूत प्याकेज निकै सस्तो रहेकाले पनि टेलिकमको एफटीटीएचप्रति आकर्षण बढिरहेको छ ।

टेलिकमले अहिले वार्षिक आठ हजार पाँच सय रुपियाँमै आठ एमबीपीएसको इन्टरनेट उपलब्ध गराइरहेको छ । यससँगै ग्राहकले एउटा टेलिफोन नम्बर पनि निःशुल्क प्राप्त गर्नेछन् ।

त्यस्तै इन्टरनेटमा आधारित टेलिभिजन सुविधा पनि त्यही कनेक्सनमार्फत प्राप्त गर्ने सुविधा टेलिकमले दिएको छ । एकैतारमार्फत इन्टरनेट, भ्वाइस र टेलिभिजनसमेतको सुविधा रहेकाले ग्राहकलाई पर्याप्त विकल्प हुँदा एफटीटीएचमा आकर्षण पाइएको अधिकारी बताउँछन् । आजको गोरखापत्रबाट

easy care

प्रकाशित: १६ पुष २०७७, बिहीबार

ताजा समाचार