नेपाल टेलिकमले अब मोबाइल सेटहरुमा नै फोरजी सेवाको परीक्षण गर्ने

Technology Khabar १५ पुष २०७७, बुधबार

काठमाडौं ।

नेपाल टेलिकमले ४जी मोबाइल सेटहरुमा आफ्नो ४जी सेवा सञ्चालन गरिरहेको फ्रिक्वेन्सी ब्याण्ड परीक्षण गर्ने भएको छ ।

कम्पनीले फोरजी मोबाइल सेटहरुमा ब्याण्ड ३, ब्याण्ड २० र भोल्टे(VoLTE) परीक्षण गर्ने योजनाअनुसार इच्छुक कम्पनीहरुलाई सहभागी हुन भनेको छ ।

कम्पनीले नेपालमा उपलब्ध मोबाइल सेटहरुमा १८०० मेगाहर्ज ब्याण्ड(ब्याण्ड ३), ८०० मेगाहर्ज ब्याण्ड(ब्याण्ड २०) र भोल्टे परीक्षणको लागि योजना गरेको हो । कम्पनीले यसको लागि आपूर्तिकर्ता तथा बिक्रेताहरुलाई सो ब्याण्डका फोरजी मोबाइल सेटहरु उपलब्ध गराउन अनुरोध गरेको छ ।

त्यसैगरि सो परीक्षण पश्चात कम्पनीले उल्लेखित सेवाहरु सपोर्ट गर्ने मोबाइल सेटहरुको मोडल प्रकाशित गर्ने जानकारी दिएको छ ।

पछिल्लो दिनमा मोबाइल सेटहरुमा ४जी नटिप्ने तथा नेटवर्क कमजोर हुने गुनासो रहेसँगै कम्पनीले ४जी मोबाइल सेटहरुमा ती फ्रिक्वेन्सी ब्याण्डहरुको अवस्थाको प्राविधिक परीक्षण गर्न लागेको हो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले केहि समयअघि बिभिन्न ब्राण्डका मोबाइल सेटहरुमा नै ४जी फ्रिक्वेन्सीको परीक्षण गर्न लागिएको टेक्नोलोजीखबरलाई बताएका थिए ।

उनले विशेषगरि ८०० मेगाहर्ज ब्याण्डलाई ध्यानमा राखेर परीक्षण गर्न तयारी गरीएको र त्यसको लागि काम भईरहेको जानकारी दिएका थिए ।

‘हामीले विभिन्न कम्पनीहरुसँग सिधै कुरा गरीरहेका छौं र छिटै औपचारिकरुपमा सूचना जारी गरेर परीक्षणको कार्य गर्नेछौं,’ प्रबन्ध निर्देशक अधिकारीले त्यस समयमा भनेका थिए ।

यहि अनुसार हाल टेलिकमले सबै कम्पनीहरुलाई सो परीक्षणमा सहभागी हुनका लागि अनुरोध गरेको हो ।

नेपाल टेलिकमले यसको लागि निकै अघिदेखि नै विभिन्न ब्राण्डहरुसँग कुराकानी गरिरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । स्रोतकाअनुसार कम्पनीले बिभिन्न मोबाइल ब्राण्डहरुसँग कुराकानी गरिरहेको र सहकार्य हुनसक्ने बताएको छ ।

यसैबिच शाओमी नेपालका कन्ट्री म्यानेजर सौरभ कोठारीले पनि सो कुराको पुष्टी गरेका छन् । उनले नेपाल टेलिकमले हालको सिडिएमएलाई बन्द गर्न लागेको हुँदा ती ग्राहकहरुलाई ४जीमा सिधै अपग्रेड गर्न सकिने संभावना रहेको बताए।

‘हाम्रा फोनसेटहरु सस्तो र गुणस्तरका साथै ४जी प्रविधि युक्त भएको हुँदा उनीहरुलाई सिधै ४जी सेवामा अपग्रेड गर्न सकिन्छ,’ उनले भने ।

उनले टेलिकमले चाहेमा सहकार्य गरेर सेवा दिन सकिने बताए ।

यसअघि नेपाल टेलिकमको ४जी सेवा देशभर ७७ जिल्लामा पुगेपनि गुणस्तर कमजोर देखिने नेटवर्क नटिप्ने लगायतका समस्या देखिएको गुनासो आएका थिए । जसलाई टेलिकमले क्रमशः समाधान गरिरहेको बताएको छ ।

प्रकाशित: १५ पुष २०७७, बुधबार

तपाइको प्रतिक्रिया