नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्ग प्रबर्द्धन गर्न क्यूआरबाट भुक्तानीको सुरुवात

Technology Khabar १० पुष २०७७, शुक्रबार

नक्साल तरकारी बजारमा डिजिटल बैंकिङ्ग प्रबर्द्धन गर्न क्यूआरबाट भुक्तानीको सुरुवात

काठमाडौं ।

डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रबर्द्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत नक्साल, काठमाडौं स्थित नक्साल तरकारी बजारमा क्यूआर बाट भुक्तानी कार्यक्रमको सुरुवात भएको छ।

नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आयोजित आजको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीद्वारा फलफूल तथा तरकारी खरिद गर्दा क्यूआरबाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी भयो । सो तरकारी बजारमा अपवाद बाहेक सम्पूर्ण पसलहरुमा क्यूआरबाट भुक्तानी गर्न सकिने छ ।

डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आइरहेको परिप्रेक्ष्यमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिन यो नमुना मोडलको थालनी भएको बताईएको छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक र सानिमा बैंकका कर्मचारी लगायत उपस्थित दर्शक तथा ग्राहकहरुले पनि फोनपे सञ्जाल अन्तर्गतका क्यूआरबाट भुक्तानी गरी डिजिटल बैंकिङ्गको अनुभव लिएका थिए।

डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो ।

खुद्रा पैसाको झन्झट नहुने, जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्राहकबाट भुक्तानी भएको रकम बैंक खातामै जम्मा हुने हुँदा क्यूआर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको पाईएको छ ।

केहि दिनअघि गभर्नर अधिकारीले एक कार्यक्रममा छिटै क्यूआरबाट तरकारी किन्न सकिने सुबिधा ल्याउने बताएका थिए । उनले देशभरका तरकारी बजारलाई क्यूआर भुक्तानीमा जोड्ने जानकारी दिएका थिए ।

Global Bank
easy care

प्रकाशित: १० पुष २०७७, शुक्रबार

ताजा समाचार