ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै

Technology Khabar १० पुष २०७७, शुक्रबार

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै
Classic Tech
Nepal Telecom

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो । लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मङ्सिर १६ देखि शुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउँछन् ।

“महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ”, उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका लागि कक्षा लिँदै आएको छ ।

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । हाल उपत्यकाका २५ स्थानमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ ।

हालको प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी लाभदायक हुने र यसले आम चालकमा अनलाइन सचेतना कक्षा लिने बानीको विकास हुने महाशाखाको भनाइ छ ।

ट्राफिक प्रहरीले हाल मध्याह्न १२ देखि १ः०० बजेसम्म, दिउँसो १ः३० देखि २ः३० सम्म र ३ः०० देखि ४ः०० बजेसम्म तीन कक्षा सञ्चालन गर्दै आएको छ । भर्चुअल कक्षा लिनका लागि विद्यार्थी तोकिएको समयभन्दा १० मिनेट अगाडि नै महाशाखाको आइडीमा जोडिनुपर्नेछ । गोरखापत्र अनलाइनबाट

TK Viber

प्रकाशित: १० पुष २०७७, शुक्रबार

Loading...