Technology Khabar ९ पुष २०७७, बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले अब दूरसञ्चार क्षेत्रको नियमितरुपमा प्रकाशन गर्दै आएको एमआईएस रिपोर्टलाई प्रदेशको आधारमा प्रकाशन गर्ने भएको छ ।
प्राधिकरणले हालै सबै सेवाप्रदायकहरुलाई सो प्रदेशको आधारमा आफ्नो बिबरणहरु उपलब्ध गराउने गरि तयारी गर्न भनेको छ।
दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय प्राधिकरणले मासिकरुपमा एमआईएस रिपोर्ट प्रकाशित गर्दै आएको छ भने सोहि आधारमा वार्षिक प्रतिवेदन समेत तयार पार्ने गर्दछ ।
प्राधिकरणले सार्वजनिक गर्ने रिपोर्टलाई मुलुककै दूरसञ्चार क्षेत्रको विकास र गतिको लागि अन्य अध्ययन तथा अनुसन्धानमा समेत समावेश गरिने गरिन्छ।
नयाँ योजनाअनुसार प्राधिकरणले अब प्रत्येक प्रदेशमा भएका टेलिफोन ग्राहकहरुको तथ्यांक सार्वजनिक गर्नेछ भने प्रत्येक मोबाइल फोन सेवा प्रदायकको ग्राहकहरुको संख्या अघिल्लो त्रैमास र हालको त्रैमासबिचको भिन्नता समेत प्रकाशन गर्नेछ ।
यसका साथै प्रत्येक अपरेटरको ब्रोडब्याण्ड इन्टरनेट सेवाको बारेमा जानकारी लिने र इन्टरनेट सेवा प्रदायकहरुको भने समग्रमा जानकारी राख्ने छ । जसलाई त्रैमासिकको आधारमा समेत मूल्यांकन गरिनेछ ।
त्यसैगरि प्राधिकरणले पहिलो पटक मोबाइल अपरेटरहरुको भिएलआर अर्थात सक्रिय सेवाग्राहीहरुको आधारमा तथ्यांक सार्वजनिक गर्ने भएको छ ।
हालसम्म प्राधिकरणले सिम कार्ड बिक्रीको संख्याको आधारमा मोबाइल अपरेटरहरुको तथ्यांक सार्वजनिक गरिरहेकोमा अब भने भिएलआरको तथ्यांक पनि आउने भएको छ । तर भिएलआरको तथ्यांक भने त्रैमासिक आधारमा मात्र प्रकाशित हुनेछ । जसलाई प्राधिकरणले भिएलआरको आधारमा मोबाइल अपरेटरहरुको बजार हिस्सा समेत देखाउने छ ।
यसबाहेक टेलिकम कम्पनीहरुको औसत प्रति ग्राहक आम्दानी (अर्पु)लाई समेत तथ्यांकमा समावेश गर्ने भएको छ । यस्तो तथ्यांक विश्वभरका टेलिकम कम्पनीहरुले सार्वजनिक गर्दै आएको भएपनि नेपालमा भने हालसम्म लुकाउने गरिँदै आएको छ।
प्राधिकरणले सार्वजनिक गर्ने नयाँ किसिमको एमआईएस रिपोर्टमा कुन अपरेटरको सेवा कुन स्थानमा छ भन्ने देखिनेछ भने कम्पनीहरुसँग कति मोबाइल टावरहरु कुन प्रविधिको लागि प्रयोग भईरहेका छन भनेर समेत हेर्न सकिनेछ।
प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले यसलाई समयानुकुल र अन्तराष्ट्रिय मापदण्डअनुसारको बनाउन लागिएको जानकारी दिए ।
‘हामी प्रदेश स्तरमा गईसकेका छौं र त्यसलाई पनि समेटेर नयाँ स्तरीय एमआईएस बनाउन लागेका हौं,’ उनले भने ।
MIS-FORMAT-Quarterly-Finalप्रकाशित: ९ पुष २०७७, बिहीबार