‘स्टार्टअपः पर्याप्त सम्भावना, लगानी बढाऔं, प्रक्रिया सहज बनाऔं’

Technology Khabar ८ पुष २०७७, बुधबार

‘स्टार्टअपः पर्याप्त सम्भावना, लगानी बढाऔं, प्रक्रिया सहज बनाऔं’

काठमाडौं ।

नेपालमा डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकोले यसको प्रवद्र्धनका लागि आवश्यक पूँजी, ज्ञान र सञ्जालको पहुँचमा सरोकारवालाहरुले जोड दिएका छन् ।

एसियाली विकास बैंक (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज.(सेजन) ले मंगलबार संयुक्त रुपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा सहभागीले यसका लागि उपयुक्त वातावरण बनाउनुपर्ने बताएका हुन् ।

मोबाइल सेवामा उच्च पहुँच, घट्दो डेटा शूल्क र युवाहरुको पर्याप्त संख्या रहेकोले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको लागि महत्वपूर्ण आधार समेत रहेको बताइएको छ । प्रविधिमा आधारित साना तथा मझौला उद्योगहरुको उच्च वृद्धिको प्रारम्भिक अनुभवले पनि नेपालमा यसको भविष्य विस्तार हुने सम्भावना उच्च देखाइएको छ । खासगरी निजी र सार्वजनिक क्षेत्रहरु असफल भएका आवश्यकतामा आधारित व्यावसायिक मोडलमा रहेको रिक्तता यस्ता किसिमका उद्यमशीलताले पूर्ति गर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा यस्ता किसिमका केही व्यवसायहरु असफल हुन सक्ने भएपनि भविष्यमा उनीहरुले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताको रुपमा उदाउन सक्ने उल्लेख गरिएको थियो । क्षेत्रीय र विश्वव्यापी रुपमै पनि यस्ता उद्यमशीलताले आफ्नो पहिचान बनाउन सक्ने सम्भावना पनि रहेको सहभागीहरुको बुझाई छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उद्यमशीलता विकासमा देखिएका वास्तविक समस्याहरुको पहिचान गरेर त्यसको समाधानमा सरकारले गम्भिर भएर लाग्ने बताए । उद्यमशीलता विकासका लागि आर्थिक र नीतिगत सहयोग मात्र नभएर त्यसलाई प्रवद्र्धन गर्न सरकारले हौसला पनि दिनुपर्ने उनले बताए । आयोगले १५ औं पञ्चबर्षीय योजनामार्फत नै उद्यमशील नागरिकको परिकल्पना गरेको र त्यसका लागि सहजीकरण गरिदिने उल्लेख गरेको उनले बताए ।

नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअप अवसर भएपनि आर्थिक र कानुनी चुनौतिलाई समाधान गरेर अनुकुल वातावरण बनाउन आवश्यक रहेको बताए । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलता विकासका लागि अहिले नै नियमन भन्दा पनि लगानीकर्ता र सञ्चालकलाई नै सम्झौतामा खुला छोडिदिएको बताए । उद्यमशीलताका लागि आवश्यक पूँजी जुटाउन साना तथा मझौला व्यवसायीलाई पनि बजारमा प्रवेश गराउने विषयमा छलफल भइरहेको उनले बताए । नेपालमा उद्यमशीलताका लागि विदेशी पूँजी ल्याउने विषयमा केही छलफल भएपनि उद्योग विभाग र राष्ट्र बैंकको प्रक्रिया पुरा गर्नुपर्ने चुनौति रहेको उनको भनाई छ ।

कार्यक्रमको छलफल सत्रमा विलेम ग्रिमिकले नेपालमा उद्यमशीलता वृद्धिका लागि आवश्यक पूँजी लगानी गर्ने प्रवृत्ति धेरै नभएको बताए । तर संकटको समयमा प्रविधिमा आधारित व्यवसायहरु नयाँ तरिकाबाट प्रवेश गरेकोले उद्यमशीलता विस्तार हुन सक्ने अवसर रहेको उनले बताए । वित्तीय पहुँचको अभाव नै नेपालको उद्यशमीलताका लागि सबैभन्दा ठूलो अवरोध रहेको यूजीबजारकी प्रमुख कार्यकारी अधिकृत निकिता आचार्यले बताइन् । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आसुतोश तिवारीले उद्यमशीलताको लागि समग्र इकोसिष्टम निर्माणमै काम गर्नुपर्ने अवस्था रहेको बताए । विपे्रषणको रकमलाई उद्यमशीलतामा प्रयोग गर्ने गरी नीगित व्यवस्था भए त्यसले धेरै सहयोग पुग्ने उनको भनाई थियो । विजनेस अक्सिजनकी लगानी प्रबन्धक रितु प्रधान मल्लले पूँजी जुटाउने सन्दर्भमा प्रक्रियागत कठिनाईले निकै समस्या पारेको बताइन् ।

कार्यक्रमा डिजिटल उद्यमशीलताको विस्तारका लागि कानुनी तथा नियमन प्रावधानहरुको आवश्यकतालाई पनि सहभागीहरुले जोड दिए । डिजिटल उद्यमशीलताको लागि विशेषत निजी क्षेत्रको नेतृत्वमा साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सहयोगी हुने किसिमका कानुनी व्यवस्थाहरुको माग उनीहरुले गरे ।

परम्परागत रुपमा सञ्चालित साना तथा मझौला व्यवसायलाई प्रविधिमा आधारित बनाउने र नयाँ स्टार्टअपमा लगानी भित्र्याउन सक्ने आधारमा कार्यक्रम केन्द्रित थियो । १५ हजार डलरदेखि दुई लाख ५० हजार डलरसम्मको लगानी आवश्यक पर्ने किसिमका डिजिटल प्रविधि उपयोग हुने व्यवसायको समग्र व्यापारचक्र सिर्जना गर्ने सम्बन्धमा पनि छलफल भएको थियो ।

Global Bank
easy care

प्रकाशित: ८ पुष २०७७, बुधबार

ताजा समाचार