धितोपत्र बोर्डमा ‘आईसिटी अपरेसनल म्यानुअल’ लागू, सूचना प्रबिधिको प्रयोगलाई ससक्त बनाउने

Technology Khabar ८ पुष २०७७, बुधबार

धितोपत्र बोर्डमा ‘आईसिटी अपरेसनल म्यानुअल’ लागू, सूचना प्रबिधिको प्रयोगलाई ससक्त बनाउने

काठमाडौं ।

नेपाल धितोपत्र बोर्डले आजैदेखि लागू हुने गरेर सूचना प्रविधि संचालन म्यानुअल, २०२० प्रयोगमा ल्याएको छ । धितोपत्र बजारको नियमनकारी निकायले सूचना प्रविधिको कार्यलाई थप ससक्त बनाउने गरि नयाँ म्यानुअल तयार पारिएको जनाएको छ ।

धितोपत्र बजार तथा वस्तु विनियम बजार(बजार) को विकास तथा विस्तारलाई व्यवस्थित एवं सुशासित बनाउन र बजार सम्बन्धी गतिविधिहरुमा सूचना प्रविधिको बढ्दो प्रयोगलाई सुरक्षित एवं भरपर्दो बनाई समग्र बजारलाई पारदर्शी एवं विश्वसनीय बनाउन र बजारमा उपयोग हुने सूचना प्रविधिलाई अन्तर्राष्ट्रिय सिद्धान्त तथा अभ्यास अनुकूल बनाउन बजार सम्बन्धी एकीकृत नीतिगत कानुनी, संस्थागत व्यवस्था तथा रणनैतिक उपाय अवलम्बन गर्नका लागि नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ बोर्डबाट साउन १ गतेदेखि लागू गरिएको थियो ।

बोर्डको आर्थिक बर्ष २०७७।७८ को वार्षिक नीति तथा कार्यक्रममा बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गर्ने तथा सूचना प्रविधि नीतिमा उल्लेखित कार्यहरु सम्बन्धित पक्षहरुबाट कार्यान्वयन योजना बनाई लागु गर्ने व्यवस्था गरिए बमोजिम सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग समेत समन्वय गरी सेबोन आईसिटी अपरेसनल म्यानुअल, २०२० (SEBON ICT Operation Manual, 2020) तयार गरिएकोमा उक्त म्यानुअल पुस ८ गते बुधबारदेखि लागू गरिएको छ ।

सेबोन आईसिटी अपरेसनल म्यानुअल, २०२० मा सूचना प्रबिधि सम्बन्धी संगठनात्मक व्यवस्था; तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन; सूचना प्रबिधि संजाल पूर्वाधारको व्यवस्था; सूचना प्रबिधि सम्बन्धी अनुसन्धान तथा विकास; बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रबिधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरण पूर्वको निरीक्षण तथा परीक्षण; हार्डवेयर, पावर तथा इनर्जीको स्तरीय एवम् प्रभावकारी व्यवस्था; सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रबिधि सम्बन्धी तालिम तथा सचेतना अभिवृद्धि लगायतका व्यवस्थाहरु समावेश गरिएको छ।

म्यानुअल लागू गरिएसँगै बोर्डबाट धितोपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाईनमार्फत पेश गर्न सक्ने गरी बोर्डबाट मिति असोज २३ गतेदेखि सञ्चालनमा ल्याइएको Electronic Reporting and Retrieval System-ERRS को प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

सेबोन आईसिटी अपरेसनल म्यानुअल, २०२० कार्यान्वयनमा आए पश्चात बोर्डको आन्तरिक सूचना तथा प्रविधि व्यवस्थापन कार्य प्रभावकारी हुने, सूचना प्रविधिको स्तर अभिवृद्घि हुने र सूचना प्रविधिको स्तरीय प्रयोग एवं प्रभावकारी व्यवस्थापनबाट बोर्डको संस्थागत क्षमता अभिवृद्धि भई बजार नियमन तथा सुपरिवेक्षणमा कार्य प्रभावकारी हुने अपेक्षा बोर्डको रहेको छ ।

easy care

प्रकाशित: ८ पुष २०७७, बुधबार