ड्रोनको प्रयोग मार्फत प्रहरीद्धारा गाँजाखेती खोजी र फँडानी

Technology Khabar ७ पुष २०७७, मंगलवार

ड्रोनको प्रयोग मार्फत प्रहरीद्धारा गाँजाखेती खोजी र फँडानी
Classic Tech

नेपाल प्रहरीले मकवानपुरमा अवैध रूपमा लगाइएको गाँजा फँडानीमा फरक शैलीको सुरुवात गरेको छ । जिल्लाका विभिन्न स्थानमा लगाइएको गाँजाखेतीको खोजी गर्न प्रहरीले ड्रोनको प्रयोग गर्न थालेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले प्रहरी प्रधान कार्यालयबाट ल्याइएको ड्रोनको प्रयोग गरेर गाँजा खेती भएको क्षेत्रको खोजीसँगै फँडानी गरिएको जानकारी दिए ।

गाँजा फँडानीमा फरक शैली अपनाएको भन्दै उनले भने, ‘ड्रोनको प्रयोगले गाँजा लगाइएको स्थानको पहिचान गर्न स्थानीयको भर पर्नु पर्दैन, आवश्यक सुरक्षा सतर्कता अपनाउन पाइन्छ र गाँजा फँडानी गर्न जाने सुरक्षाकर्मीको टोलीमाथि सुरक्षा चुनौतीसमेत कम हुन्छ ।’

विगतमा गाँजा फँडानी गर्न गएका सुरक्षाकर्मीको टोलीलाई अवैध रूपमा गाँजा खेती र कारोबारमा संलग्न भएकाहरूले आक्रमण प्रयास गर्ने र मुठभेडको अवस्थासमेत आउने गरेको थियो ।

प्रहरी प्रधान कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो, बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय मकवानपुर लगायतको प्रहरी एकाइको संयुक्त टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका, बकैया गाउँपालिका, कैलाश गाउँपालिका र थाहा नगरपालिकाका विभिन्न स्थानमा लगाइएको अवैध गाँजाखेती गत मङ्सिर २० गतेदेखि नष्ट गर्दै आएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता रानाले हालसम्म विभिन्न स्थानका २५० बिघा क्षेत्रफलमा लगाइएको गाँजा र राक्सिराङ गाउँपालिकामा पाँच बिघा क्षेत्रफलमा गरिएको अफिम खेती नष्ट गरिसकेको बताए ।

उनका अनुसार अफिम खेती लगाइएको क्षेत्र ड्रोनबाट स्पष्ट नदेखिए पनि गाँजा खेती माथिबाट सहजै देखिने भएकाले फँडानी गर्न सहज भएको छ र फँडानी गरिएको अफिम र गाँजा जलाएर नष्ट गर्ने गरिएको छ । आजको गोरखापत्रबाट

TK Viber

प्रकाशित: ७ पुष २०७७, मंगलवार

Loading...