ब्रोडब्याण्ड इन्टरनेट २५ एमबीपीएसभन्दा माथिलाई मात्र मान्ने तयारी, ब्रोडब्याण्ड नीति समीक्षा हुँदै

Technology Khabar ५ पुष २०७७, आईतवार

ब्रोडब्याण्ड इन्टरनेट २५ एमबीपीएसभन्दा माथिलाई मात्र मान्ने तयारी, ब्रोडब्याण्ड नीति समीक्षा हुँदै
सांकेतिक तस्विर

काठमाडौं ।

सरकारले ब्रोडब्याण्ड इन्टरनेटको मापदण्ड र गतिलाई संसोधन गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हाल ब्रोडब्याण्ड नीति, २०७१ को समीक्षा गर्दै हालको ५१२ केबीपीएस डाउनलोड गतिको मापदण्डलाई संसोधन गरेर नयाँ मापदण्डको आधार बनाउने योजना लिएको हो ।

मन्त्रालयले हालको ब्रोडब्याण्ड नीति समयानुकल भए नभएको र त्यसको उपयोगिताको बारेमा समीक्षा तथा अध्ययन गरिरहेको छ । सोहि सिलसिलामा सरकारले ब्रोडब्याण्ड इन्टरनेटको गति र आधारको परिभाषालाई समयानुकल बनाउँदै नयाँ आधार तयार गर्ने योजना लिएको छ।

यसको लागि मन्त्रालयका सचिवको संयोजकत्वमा समिती बनाएर कार्यदललाई अध्ययनको जिम्मा दिईएको छ।

हाल अध्ययन र समीक्षाकै चरणमा रहेको र ब्रोडब्याण्ड इन्टरनेटको मापदण्डलाई समेत सुधार गर्नुपर्ने देखिएको मन्त्रालयका योजना अनुगमत तथा मूल्यांकन शाखाका उपसचिव मुकुन्द शर्माले बताए।

‘अहिले ब्रोडब्याण्ड नीतिले ५१२ केबीपीएसलाई ब्रोडब्याण्ड इन्टरनेट भनेर आधार तय गरेको छ तर प्रविधि र समय त्यसभन्दा धेरै विकसित र अगाडि पुगिसकेको छ, त्यसैले यसमा समेत संसोधन गर्नुपर्ने देखिएको छ,’ उपसचिव शर्माले टेक्नोलोजीखबरसँग भने।

उनले आईटीयूले २ एमबीपीएसलाई न्यूनतम आधार तोकेको भएपनि छिमेकी मुलुक भारतमा नै २५ एमबीपीएसलाई आधार बनाईएको भन्दै  त्यसैअनुसार नेपालमा पनि तोक्नुपर्ने बारेमा समीक्षा बैठकमा छलफल भईरहेको बताए । यसका साथै विकसित मुलुकहरुको प्रयोग र अनुभवलाईसमेत आधार मानेर नयाँ ब्रोडब्याण्ड इन्टरनेट गतिको मापदण्ड बनाउने बताए ।

अहिले नै देशभित्र १० एमबीपीएस भन्दा माथि इन्टरनेट सेवा प्रयोग हुनु सामान्य भएको र त्यसआधारमा पनि भारतले तोकेको जस्तै मापदण्ड अबलम्बन गर्नुपर्ने देखिएको उनको भनाई छ।

उता मन्त्रालय स्रोतले पनि नेपालमा हालको मापदण्डलाई संसोधन गर्ने हो भने कम्तीमा २५ एमबीपीएस तोक्नुपर्ने गरि ब्रोडब्याण्ड नीतिमा छलफल भएको जानकारी दियो ।

‘ब्रोडब्याण्ड इन्टरनेटको परिभाषामा न्यूनतम २५ एमबीपीएस बनाउने बारेमा सबै कन्भिन्स हुनुहुन्छ, यसलाई पटक पटक संसाेधन गर्ने भन्दा पनि आगामी दिनमा प्रविधि झन नयाँ आउने हुने हुँदा सोही अनुसार बनाईनेछ,’ स्रोतले स्पष्ट पार्यो ।

हालको नीतिले ब्रोडब्याण्ड इन्टरनेट भनेको कम्तिमा ५१२ केबीपीएसको डाउनलोड गतिलाई मानेको छ भने विशेष शहरी क्षेत्रमा कम्तिमा १० एमबीपीएसको गति भएको ब्रोडब्याण्ड सेवा बिस्तार गर्ने लक्ष्य लिएको छ ।

यस्तो छ हालको ब्रोडब्याण्ड नीति २०७१-

5.broadband_policy_2071
easy care

प्रकाशित: ५ पुष २०७७, आईतवार