नेपालमा डिजिटल डिभाइड: धनी र गरिबको घरधुरीबिच इन्टरनेट पहुँचमा ७१.३ प्रतिशतको फरक

Technology Khabar २४ मंसिर २०७७, बुधबार

नेपालमा डिजिटल डिभाइड: धनी र गरिबको घरधुरीबिच इन्टरनेट पहुँचमा ७१.३ प्रतिशतको फरक

काठमाडौं ।

धनी र गरिब नेपालीहरु बिच इन्टरनेटको पहुँचमा ठूलो भिन्नता रहेको देखिएको छ । हालै केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा धनी व्यक्ति र गरिब ब्यक्ति बिच इन्टरनेटको पहुँचमा ठूलो भिन्नता रहेको देखिएको हो ।

विभागले गरेको नेपाल वहुसूचक सर्वेक्षण २०७५/७६ तथ्यांकअनुसार नेपालका धनीहरुमध्ये ८८.७ प्रतिशतसँग घरमा इन्टरनेटको पहुँच रहेको देखिएको छ । विभागकाअनुसार कुल २ हजार ७२४ घरधुरीमध्ये ८८.७ प्रतिशत धनीहरुसँग घरमा नै इन्टरनेट सेवा उपलब्ध रहेको छ।

तर सार्वजनिक तथ्यांकअनुसार गरिब घरपरिवारहरुमा भने केबल १७.४प्रतिशत घरधुरीमा मात्र इन्टरनेटको पहुँच रहेको छ । विभागले गरिब भनेर उल्लेख गरिएका २ हजार ४८१ घरधुरीहरुमध्ये १७.४ प्रतिशतमा मात्र इन्टरनेट पहुँच भएको तथ्यांकमा रहेको छ।

त्यसैगरि मध्यमवर्गिय परिवारहरुमध्ये ४७.२ प्रतिशतमा मात्र इन्टरनेट सेवाको पहुँच देखिएको छ । जसमा २ हजार ३९० घरधुरीहरुलाई सर्वेक्षणमा समावेश गरिएको थियो ।

तथ्यांकअनुसार घरमा इन्टरनेट सेवा पुगेको आधारमा हेर्दा धनी र गरिब परिवारबिच करिब ७१.३ प्रतिशतको फरक देखिएको छ । यसलाई विज्ञहरुले ‘डिजिटल डिभाइस’ को रुपमा लिने गर्दछन् ।

त्यसैगरि धनी व्यक्ति र गरिब व्यक्तिका घरधुरीबिच अन्य प्रविधिगत उपकरणहरुको पहुँचमा पनि भिन्नता देखिएको छ ।

मोबाइल फोन

करिब शतप्रतिशत धनीहरुसँग मोबाइल फोन रहेको देखिएको छ भने गरिब व्यक्तिहरुसँग त्यो भन्दा १० प्रतिशत कम मोबाइल डिभाइस रहेको देखिएको छ । तथ्यांकअनुसार ९९.७ प्रतिशतसँग मोबाइल फोन रहेको छ भने गरिबहरुमध्ये ८८.३ प्रतिशतसँग मात्र मोबाइल फोन रहेको देखिएको छ ।

मोबाइल फोन हुने मध्यमवर्गिय परिवारहरु ९८ प्रतिशत रहेका छन् ।
अझ कम्प्यूटर र टेलिभिजनको आधारमा हेर्दा धनी र गरिब बिचको भिन्नता निकै ठूलो देखिन्छ ।

कम्प्यूटर

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४७.१ प्रतिशत धनी नेपालीहरुसँग कम्प्यूटर रहेको देखिएको छ भने केबल १.२ गरिब नेपालीहरुसँग मात्र कम्प्यूटर रहेको देखिन्छ ।

तथ्यांकको आधारमा हेर्दा धनी र गरिब घरपरिवारमध्ये कम्प्यूटर भएको भिन्नता ४५.९ प्रतिशत रहेको छ ।

टेलिभिजन

त्यस्तै टेलिभिजन सेटतर्फ भने त्यो भिन्नता धनी र गरिब नेपालीहरुबिच झन फराकिलो रहेको छ । तथ्यांकअनुसार धनी परिवारहरुमध्ये ८९.७ प्रतिशत घरमा टेलिभिजन सेट रहेको छ भने गरिबहरुमध्ये केबल ७.१ प्रतिशतसँग मात्र टेलिभिजन सेट रहेको छ ।

अर्कोतर्फ मध्यम वर्गिय परिवारहरुमध्ये ७.३ प्रतिशत घरमा मात्र कम्प्यूटर रहेको देखिएको छ भने टेलिभिजन सेट ६०.१ प्रतिशत घरमा रहेको छ ।

रेडियो

तर यसभन्दा निकै फरक रेडियोको उपलब्धता भने धनीभन्दा गरिब परिवारमा अधिक रहेको देखिएको छ ।

तथ्यांककाअनुुसार धनी परिवारहरुमध्ये २०.९ प्रतिशतसँग रेडियो सेट रहेको छ । तर गरिब परिवारहरुमध्ये २३.७ प्रतिशत नेपालीको घरमा रेडियो सेट रहेको छ ।

फिक्स्ड लाइन

फिक्स्ड लाइन टेलिफोन हुने नेपालीहरुमा धनीको संख्या २१ प्रतिशत रहेको देखिन्छ भने गरिब घरमा केबल १.३ प्रतिशतसँग मात्र फिक्स्ड अर्थात तारसहितको टेलिफोन सेवा उपलब्ध रहेको छ। त्यसैगरि मध्यम वर्गिय परिवारमा पनि १.३ प्रतिशत घरमा मात्र फिक्स्ड लाइन टेलिफोन रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २४ मंसिर २०७७, बुधबार

ताजा समाचार